अन्तरदेशीय व्यापारिक महत्वको बेनी-जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्राविधिक टीकाराम भुसालले पोखरेबगरको मोटरेबल पुल निर्माण सकिएको जानकारी दिए ।

“महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो पुल गत असोज महिनादेखि नै सञ्चालनमा आइसकेको छ”, उनले भने, “पोखरेबगरमा पनि पुलका संरचना र पहुँचमार्ग निर्माण सकिएको छ । केही दिनमै सञ्चालनका लागि योग्य हुन्छ ।” एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो। दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो ।

कोरोना महामारी र बाढीपहिराजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको प्राविधिक भुषालले बताए । पोखरेबगरतर्फको पहुँचमार्गमा पर्ने आश्रमको ब्यवस्थापनका विषयमा विवाद हुँदा केही समय अन्योल भएको थियो ।

गाउँपालिका र वडाका जनप्रतिनिधि तथा अगुवाहरूको पहलमा आश्रमलाई व्यवस्थापन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले सघाउने जनाएपछि स्थानीयवासी पुलसम्म पुग्ने पहुँचमार्ग बनाउन सहमत भएका थिए । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ । विसं २०७८ असार २९ गते भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको बिओकेआई–हिमालयन जेभीले पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ ।

विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले ११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड ९निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने० मोडलमा ठेक्का सम्झौता भएको जानकारी दिए । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा ११ वटा घर, बेलीब्रिज, झोलुङ्गे पुल र एक जना मानिस बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलीब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप एक पुल निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए ।

Leave a Reply