म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको करासी गाउँमा जिर्ण अवस्थाको एक घर।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको करासी गाउँमा जिर्ण अवस्थामा रहेको एक घर। परिवारका ज्येष्ठ सदस्यको मृत्यु तथा रोजगारीका लागि गएका छोराबुहारी समेत बसाइँसराइ गरी अन्यत्र गएपछि अलपत्र परेको छ।

म्याग्दीको ग्रामिण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्। संघीयताको प्रयोग ग्रामिण क्षेत्रसम्म पुगेपनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामिण बस्तीमा प्रयोगविहिन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।

बि.स. २०६८ मा एक घर परिवार भित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा३.६७ जना मात्र वस्ने गरेको देखिन्छ। ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख घनश्याक सापकोटाले बताए।

‘बसाईसराईको अवस्था चिन्ताजनक छ,‘गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण संकलन धेरै्र भएको छ’ सापकोटाले भने।उनले खाली भएका घरपरिवार बैदेशिक रोजगारी र शहरबजारमा धेरै रहेको बताए।

जिल्लाको ६ वटै स्थानीय तहमा समेत बि.स. २०६८ को जनगणना अनुसार जनसंख्या कमी रहेको देखिन्छ।म्याग्दीबाट भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको संख्या १० हजार ७१३ रहेको छ।जसमा पुरुष ८ हजार ८४३ र महिला १८ सय ७० रहेको छ।२५ हजार ३७४ घरधुरीमा २९ हजार २४२ परिवार संख्याको बसोबास छ।

९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। जिल्लाको कु्ल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ। बैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ। पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ।

श्रीमान बैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामिण बस्तीमा जनसंख्या पातलीदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख रामजीप्रसाद सुबेदीले बताए। ‘घर संरक्षणको अभावमा खाली हुदाँ खेतबारी बाँझोमा परिणत भएको छ,‘संघीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन’ सुबेदीले भने।

उनले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई विपन्न परिवार समेत गाउँबाट विस्थापित हुन थालेकोमा चिन्ता ब्यक्त गरे। संघीय ब्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधा सहित शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकताले ग्रामिण बसाईमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसंख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको बताए।

बसाइसराईको कारण ग्रामिण क्षेत्रका विद्यालयमा समेत बिद्यार्थीको सङख्या कम छ। गाउँमा उत्पादन भएका बस्तु शहरमा बिक्रि हुने गरेको खाद्यान्न र कृषिजन्य बस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ। ‘यूवाहरू विदेशमा छन,अशक्त वृद्धबृद्धाको सेवा गर्नेहरूको समेत कमी छ’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्।

उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरेपनि आम्दानीको हिसावले  सन्तुष्ट हुने अवस्था नभएकाले शहर बजार र विदेश जाने गरेका बताईन्।

बसाईसराईको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाई छ। म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ जना छ।

Leave a Reply