पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विभिन्न कारणले गर्दा बालबालिकाहरुमा पोषणको कमी देखिएको बताउनुभयो । उहाँले भर्खरै जन्मिएका बालबालिकाहरुले पोषणयुक्त खानेकुरा नपाउँदा शारिरीक तथा बौद्धिक विकासमा समेत असर पुगेको बताउँदै उनीहरुको स्वास्थ्य तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पोषण तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु विद्यालयस्तरमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले ग्रामीण भेगमा अझै पनि बालबालिकाहरुमा कुपोषणको अवस्था कायमै रहेकाले यसको न्युनीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पोषणको कमीका कारण बालबालिकाको समग्र स्वास्थ्य अवस्था कमजोर हुनेहुँदा दक्ष नागरिक उत्पादनमा पनि समस्या आउने बताउँदै व्यक्ति, परिवार तथा समुदाय र सरोकारवालाको पहलमा कुपोषणको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

बहुक्षेत्रीय पोषणका क्षेत्रमा भए, गरेका क्रियाकलापहरुको पुनरावलोकन गरी पोषण तथा स्वास्थ्यको विकासमा जनप्रतिनिधिहरुको भूमिका र प्रतिबद्धता सुनिश्चितता गर्दै बहुक्षेत्रीय पोषणका क्षेत्रमा भएका विभिन्न नवीनतम् क्रियाकलापहरुको निरन्तरता तथा लगानी वृद्धिका लागि साझा प्रतिबद्धता तयार गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सुआहाराले जनाएको छ ।

कार्यक्रमको अवधिमा पोषणको महत्व, औचित्य र आवश्यकता, विषयगत क्षेत्रहरुको विद्यमान अवस्था, एकीकृत पोषण सेवाको दीगोपनाका लागि सुदृढ प्रणाली, एकीकृत कार्ययोजना निर्माण र प्रस्तुतीकरण, प्रतिबद्धता घोषणा, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक र पालिकास्तरीय कोभिड खोप व्यवस्थापन तथा संक्रमण रोकथामसम्बन्धी कार्यक्रम लगायतका विषयहरुमा सहजीकरण गरिने तय गरिएको छ ।

कार्यक्रममाथि सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत केशव भूषाल र म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र विषयगत शाखाका प्रमुखसहित २५ जनाले सहभागिता जनाएका छन् ।


गोष्ठीमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, कृषि शाखा प्रमुख शिक्षित पराजुली, खानेपानी तथा सरसफाई स्वच्छता (वास)का फोकलपर्सन नवनारायण ढुङ्गाना र शिक्षा शाखाको नायव सुब्बा सुन्दर खत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनसत्र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा जनप्रतिनिधि, कर्मचारी, आयोजक र सहभागीहरुको उचाइअनुसार शरिरको तौल नापजाँच (बिएमआई) गर्नुका साथै तथा सुगरको समेत परीक्षण गरिएको थियो ।

Leave a Reply