म्याग्दीको धवलागिरी गाउँपालिकाका कृषकहरुलाई मंगलबार मिनिटेलर हलो र थ्रेसर बितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार पचास प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन बितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी शर्मा र कृषि शाखा संयोजक आश्विन खत्रीले उपकरण बितरण गर्नुभएको थियो । कृषि औजार बितरणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा रु. दश लाख बिनियोजन गरेको थियो । मिनिटेलर हलो खेतबारी खनजोतमा प्रयोग हुन्छ । थ्रेसर मेसिन धान, गहुँ, कोदोको दाना झार्न प्रयोग हुन्छ ।

खेतीमा यन्त्र उपकरणको प्रयोगबाट लागत घटाउने, कृषकको समय बचत गराउने र उत्पादन बढाउने उद्देश्यले मिनिटेलर हलो र थ्रेसर मेसिन बितरण गरेको अध्यक्ष पुनले बताउनुभयो । यसअघि गत हप्ता धवलागिरी गाउँपालिका–६ मराङमा ११ वटा मिनिटेलर, चार वटा थ्रेसर र वडा नम्बर ५ मल्कवाङमा दुई वटा थ्रेसर पचास प्रतिशत अनुदानमा बितरण गरिएको थियो । गाउँपालिकाले अन्य वडामा पनि थ्रेसर र मिनिटेलर बितरण गरिने जनाएको छ ।

Leave a Reply