म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा पर्ने पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । वडा अध्यक्ष लक्ष्मण बानियाले ठेक्का पाएका निर्माण ब्यवसायी पार्क निर्माणका लागि परिचालन भएका जानकारी दिनुभयो ।
“परिकल्पना भएको एक दशकपछि रावण पार्क योजना कार्यान्वयन शुरु भएको छ,” उहाँले भन्नुभयो “रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका छन् ।” रावण पार्क बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो ।
बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका अनुसार ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको धर्मा एस कास्यप जेभीसँग सम्झौता भएको हो । “पर्यटन मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेका थियौ,” उहाँले भन्नुभयो “पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार पार्न लागिएको हो ।”
निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले काठमाडौमा रावणको मुर्ति तयार पार्ने काम भैरहेको जानकारी दिनुभयो । पछैमा पार्कका अन्य संरचना बनाउन पनि शुरु गरेको उहाँले बताउनुभयो । २०७९ पुष महिनामा रावण पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पुर्बाधार बनाइने भएको छ ।
हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । बि.स. २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।
पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ । बि.स. २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण पार्कको योजना कार्यान्वयन हुन सकेको थिएन् ।
मुक्तिनाथ प्रवेशद्धार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, सुर्योदय, बेनी बजार लगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । बेनी बजारदेखि गाडीमा तीस मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे सम्मको सडक कालोपत्रे भएको छ ।
यस्तो छ धार्मिक महत्व
रामायणमा ‘खल’ पात्र बनाइएका रावणको जन्मभूमि मानिएको एवं हिन्दुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एउटा म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधार अभावमा गुमनाम थियो ।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम्, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थल भनिएको छ।
पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ।
पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ । सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणहरूमा उल्लेख छ।
पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी मन्दोदरी लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ। पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरु भेटिने गरेको छ।
ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाई छ ।पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पौलस्त्य–पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरिलगायत मनोरम हिमशृंखला देखिन्छन्।