पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसीले आज (बुधबार) आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालन गरिएको गलेश्वर ज्येष्ठनागरिक वृद्धाश्रमलाई उहाँले खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो ।

ज्येष्ठनागरिक आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर उपाध्यक्ष केसीले चिनी, नुनतेल, आटालगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग गरेको गलेश्वर ज्येष्ठनागरिक आश्रमले जनाएको छ । उक्त सामग्रीहरु उपाध्यक्ष केसीसहितको एक टोलीले आश्रममै पुगेर एकमुष्ठ रुपमा हस्तान्तरण गरेको थियो ।

नेकपा एमाले म्याग्दीको जिल्ला कमिटी सदस्य समेत रहनुभएकी उपाध्यक्ष केसीले आफन्तको अभावमा ज्येष्ठनागरिक आश्रममा बस्दै आएका नागरिकहरुलाई सानो भए पनि सहयोग गर्ने उद्देश्यले आफूले जन्मदिनको अवसरमा सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि ज्येष्ठनागरिक आश्रमका साथै सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता समेत दिने बताउनुभयो ।

खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, लेखा प्रमुख लेखनाथ अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply