पश्चिम म्याग्दीमा निर्माणधिन पक्की पुलको ढलान गर्ने क्रममा लापरबाही हुँदा दायाँ र बायाँ दुबै तर्फको असर गरेको छ । बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्न म्याग्दी नदीमाथि बन्दै गरेको मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको हो । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भागमा असर गरेको अनुगमन टोलीको भनाई छ ।

ढलानको क्रममा देखिएको समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराएपछि विहिवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको नेतृत्वमा प्राविधिकहरू सहितको टोली स्थलगत अनुगमनमा गएको थियो ।

 

अनुगमनको क्रममा ३ देखि साढे ६ सेन्टिमिटर सम्म पुलको ढलान दबिएको भेटिएको टोलीले जनाएको छ । पुलको पहिलो ढलान ३० सेन्टीमिटर बाख्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाईएको हो । ‘ढलानको क्रममा कमजोरी देखिएको छ,‘तत्काल सुधार नगरे भविस्यमा क्षती हुनसक्छ’जिसस प्रमुख केसीले भन्नुभयो ।

 

सडक डिभिजनका प्राविधिक टोलीलाई ढलानको लेवल तलमाथि भएको अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गरि उपलब्ध गराउन सुझाब दिएको र प्राविधिक रुपमा टुंगोमा नपुग्दासम्म तेस्रो स्पामको थप कामलाई रोक्न निर्देशन दिइएको छ । अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रुपमा थप नापजाँच गरि वास्तविकता पत्ता नलाग्दा सम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरि तिब्रता दिने समझदारी समेत गरेका छन् ।

सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक बर्ष २०७३÷०७४ मा लुम्बिनी–प्राकृतिक जेभीसँग भ्याट बाहेक ९ करोड ३९ लाख ९३ हजार २७७ मा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ३५ ÷३५ मिटरका तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो स्पामको ढलानको सटिङमा भएको लापरबाहिले पुलको ६ ठाउँमा दविएको देखिएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईएको तातोपानीकाका अगुवा विरेन्द्रमान शाक्यले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले ढलानको लेवल नापचाँज गरी विज्ञहरु समेतको सल्लाह लिएर कार्यालयले आबश्यक निर्णय लिने बताउनुभयो । लेवल थप १० सेन्टीमिटर ढलान गर्ने काममा मिलाउन सकिने पोखरेलले बताए ।

३० सेन्टीमिर बाख्लो ढलानमा थप १० सेन्टीमिटर फिनिसिङ ढलान गर्न बाँकी रहेको छ । अनुगमन टोलीमा जिसस सदस्य शेरबहादुर केसी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुवास श्रेष्ठ लगायत तातोपानी र पखेरका स्थानीय सरोकारवालाहरुको समेत सहभागीता रहेको थियो । पुल निर्माणकै क्रममा धार परिवर्तन गर्दा तातोपानी बजार जोखिममा परेको छ ।

चार वटा पिलर र तीन स्पाम रहेको यस पुलको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। आगामी चैत मसान्तसम्म म्याद थप भएको पुलको तीन वटै सेल्याब ढलानको काम सकिएको छ भने अन्य काम बाँकी रहेको छ । ११ मिटर चौडाइ रहेको फापरखेत–पखरे जोड्ने पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै बरंजा र अर्मन सीधा सडक सञ्जालमा जोडिनेछन् ।

सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा– ५ अर्मनको मसानघाटमा समेत अर्को मोटरेवल पुल निर्माण गरिरहेको छ । लुम्बिनी–प्राकृतिक जेभीले नै ठेक्का लिएर निर्माण गरिरहेको उक्त ८० मिटर लामो पुलको समेत एउटा स्पाम ढलान गरी अर्को स्पामको ढलान गर्ने तयारी गरिएको छ । पुल निर्माण भएपछि मंगला गाउँपालिका वडा नं ३, ५ र ५ का साथै छिमेकी जिल्ला बागलुङको ताराखोला, काठेखोला गाउँपालिकाबासीलाई समेत सहज हुने छ ।

 

Leave a Reply