पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण गरिने भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गरेका हुन् ।

शिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको बताए । पाँच बर्षको अवधिमा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सडक लगायतका पूर्वाधार निर्माणमा उल्लेखनीय काम भएको दावी गरे । जलजला गाउँपालिका योजनावद्ध र दिगो विकासको लक्ष्य सहित अगाडि बढिरहेको उनको भनाई छ ।

अध्यक्ष मल्लले देश बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्ने बताए । स्थानीय सरकार बलियो नभएसम्म प्रदेश र केन्द्र सरकार बलियो नहुने उनको भनाई छ । ‘थोरै खर्च गरेर काम गर्नुपर्नेमा धेरै बजेट छुट्याएको र धेरै खर्च गर्नुपर्ने क्षेत्रमा कम बजेट छुट्याएको छ, राज्यले संघियता कार्यान्वयका लागि स्थानिय सरकारलाई पहिलो प्राथकितामा राखेर बजेट विन्योजन गर्नुपर्छ,अभाव, संकट र समस्याका बाबजुत पनि जनताको घरदैलोको स्थानीय सरकारले निकै महत्वपूर्ण काम गरेको छ,’अध्यक्ष मल्लले भने ।

प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले जलजला गाउँपालिकाले पालिकाका सवै वडामा सुविधासम्पन्न वडा भवन निर्माण हुन लागेको जानकारी दिए । उनले बाँकी रहेका वडा कार्यालय निर्माणका लागि डिपिआर तयार भैसकेको बताउँदै नागरिकलाई गुणस्तरिय सेवा प्रदानका लागि सुविधा सम्पन्न भवन आवश्यक पर्ने बताए । जलजला गाउँपालिकाले आफ्नै स्रोत र साधन परिचालन गरेर नमुना योग्य काम गरेको बताउँदै अधिकृत क्षेत्रीले विकास एकै पटक हुने चिज नभई विस्तार हुने प्रकिया भएको बताए । ‘सवैको साथ र सहयोगले मात्र विकास सम्भव छ, विकासका लागि सबैको साथ र सहयोग रहेमा पालिकाको मुहार छिटै नै फेरिने छ,’ क्षेत्रीले भने ।

यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष गोविन्द खत्रीले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाहमा प्रभावकारी हुने उनको भनाइ थियो । भवन शिल्यन्यास कार्यक्रममा जलजला गाउँपालिका प्रवक्ता एवम् वडा नम्वर ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी, वडा नम्वर ४ का वडा अध्यक्ष भिष्म मल्ल, जलजला गाउँपालिकाका लेखा अधिकृत तेजुराम सुनार लगायतको उपस्थिती रहेको थियो ।

भवन निर्माणका लागि स्थानीय व्यक्तिवाट जग्गा खरिद गरिएको थियो । ४ रोपनी ३ आना १ पैसा ३ दाममा जग्गा प्रति रोपनी ६ लाखका दरले खरिद गरिएको वडा सदस्य निरवहादुर कार्कीले जानकारी दिए । तिन कोठे भवन सहित उपल्लो तलमा सभा हल निर्माण गरिनेछ । एक करोड ४५ लाख लागतमा निर्माण गर्न लागेको वडा कार्यालयको जिम्मा महारानी कन्ट्रक्सनले पाएको छ । ३० महिना भित्र निर्माण कार्य सम्पन्न गरिने कन्ट्रक्सनले जनाएको छ ।

Leave a Reply