‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (बिहीवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ५ नम्बर वडा पुलाचौरमा एक कार्यक्रमको आयोजना गरी २२ जनालाई कपडा वितरण गरिएको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक सम्मान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर न्यानो कपडा (फाइबर) सिरक वितरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाको आफ्नै बजेटबाट नगरका विभिन्न वडामा रहेका अति विपन्न र अपाङ्गता भएका ज्येष्ठनागरिकलाई वडामै पुगेर जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले सानो भए पनि सहयोग गर्ने उद्देश्यले ज्येष्ठनागरिकलाई लक्षित गरेर जाडोका लागि फाइबर सिरक वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिकामार्फत विभिन्न समयमा नगरका वडामा पुगेर ज्येष्ठनागरिकलाई ज्येष्ठनागरिक, अपाङ्गता परिचयपत्र तथा सामाजिक सुरक्षाभत्ता वितरण, स्वास्थ्य शिविर सञ्चालनलगायत कार्यक्रमहरु गर्ने गरिएको बताउँदै आउँदा दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

सोही कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले वडा कार्यालय र नगरपालिकामार्फत ज्येष्ठनागरिकलाई सम्मानका लागि न्यानो कपडा वितरण कार्यक्रम अगाडि सारिएको बताउनुभयो । पुलाचौरका वडा सदस्य रामप्रसाद सुवेदीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको बेनी नगपालिकाको महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले सञ्चालन गर्नुभएको थियो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बेनपाको ८ वटा वडाका प्रति वडा २० जनाका दरले अति विपन्न र अपाङ्गता भएका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । बेनीको ७ र ८ नम्बर वडामा यसअघि ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ भने बुधबार घतान र पात्लेखेत वडाका ज्येष्ठनागरिकलाई समेत न्यानो कपडा वितरण गरिएको थियो ।

Leave a Reply