जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे क्षेत्रमा बाख्लो हिमपात भएको छ । जिल्लाकै नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भइरहेको रुईसेमा हिमपात भएपछि रमाउन जानको चहलपहल सुरु भएको छ ।

धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसेलाई भ्यु प्वाईन्ट आसपासका क्षेत्रमा हिमपात भएको स्थानीय यूवा एवम् म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष हरि भण्डारीले बताउनुभयो । ‘आसपासका क्षेत्रमा बाख्लो हिमपात छ,‘ हिमपातका कारण यसबर्ष गुरासँ समेत राम्रो फुल्छ’ भण्डारीले भन्नुभयो ।

समुन्द्री सतहदेखि २ हजार ५३० मिटर उचाईमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलासको सिमाक्षेत्रलाई समेटिएको रुईसे–भेडीओढारबाट मनोरम हिमसृङ्खलाको अवलोकन गर्न सकिन्छ । पुर्वमा माछापुच्छ«ेदेखि अन्नपूर्ण, निलगिरी, धौलागिरी हुँदै पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजीकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख बिशेषता हो ।

बसन्त ऋतुमा जंगलमा राताम्मे भएर फुल्ने गुराँस फुलले थप सु–सज्जीत बनाउने गर्छ । त्यहाँ राखिने भेडाबाख्राका गोठहरुले परम्परागत जिबनशैलिको झल्को दिने गर्छ भने बर्खाको समयमा हिमपातले समेत थप रौनकता थपिदिएको छ ।

अग्ला पहाडमा हरियाली जंगलले शुसज्जित रुइसे क्षेत्र दन्तेलहर जस्तै देखिने आधा दर्जन बढी हिमसृङ्खलाको दृष्य अवलोकन र गुराँसे जंगलमा रमाउनको लागि आकर्षक रहेको स्थानीयको भनाई छ । मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेडीओढार क्षेत्रबाट म्याग्दी, बागलुङ र पर्वतका विभिन्न स्थानहरुलाई एकैठाउँबाट अबलोकन गर्न सकिन्छ भने यसक्षेत्रबाट विहानीको सुर्योदयको दृष्य मनमोहक देखिन्छ ।

बेनी नगरपालिकाको गलेश्वर देखि सुरु हुने धौलागिरी आईसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनमंगलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ । यो पर्यटकलाई निकै आर्कषित गर्न सक्ने सुन्दर गन्तब्य भएकाले गाउँपालिका, प्रदेश सरकारले समेत पूर्वाधारमा लगानी गरेको छ ।

 

 

Leave a Reply