मंगला गाउँपालिकाको १२ औं गाउँसभाबाट अर्धबार्षिक समिक्षासहित थप ३८ लाख बजेट विनियोजन गरेको छ । शुक्रबार बावियाचौरमा भएको गाउँसभाबाट माग भई आएका योजनाहरुमध्ये अतिआवश्यक १६ वटा योजनालाई सो बजेट विनियोजन गरिएको हो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा अर्धबार्षिक समिक्षा, बजेट संसोधन, निर्णयहरु अनुमोदन लगायतका विषयमा कार्यपालिका सदस्यहरु विच छलफल भएको प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले चालु आर्थिक बर्ष ०७८/०७९ को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको चालुतर्फ २६ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट मध्ये ९ करोड ५० लाख ३० हजार खर्च भएको र पुजीगतर्फ १६ करोड ८ लाख ४ हजार रुपैया बजेटमध्ये २ करोड १० लाख १० हजार रुपैया बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले बताउनुभयो ।

गाउँपालिकामा रहेको ४२ करोड ५६ लाखमा कुल बजेटमा २७.२६ प्रतिशत खर्च भएको छ । गाउँसभाबाट विभिन्न समयमा भएको निर्णयहरु अनुमोदन गरिएको छ भने पाच वटा कानुन पारित भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाका अनुसार संस्था दर्ता ऐन, लेखा समिति संचालन कार्यसमिति ऐन, विद्यायन (कानुन) निर्माण समिति, विषयगत समिति संचालन कार्यसमिति र श्रमिक डेस्क संचालन समिति ऐन निर्माणसंगै कार्यान्वयनको लागि गाउँसभाबाट पारित भएको छ ।

चालु आर्थिक बर्षमा रहेको ११० वटा योजनाहरुमध्ये ५७ वटा योजना कार्यान्वयनका लागि सम्झौता भएको छ भने ४ वटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। गाउँसभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले योजना कार्यान्वयनलाई प्रभावकारी रुपमा समयमै सम्पन्न गराउन कर्मचारी र वडाका जनप्रतिनिधिहरु सक्रिय हुन आग्रह गर्नुभएको छ । जनस्वास्थ्य मापदण्ड पालना गर्दै मंगर संघको हलमा गाउँसभा भएको थियो ।

Leave a Reply