गएको बिहिबारदेखि निरन्तर परिरहेको हिमपातले टोड्के छपक्कै छोपिएको छ । अग्लो डाँडाबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« लगायतका हिमश्रृंखलाको लामो लस्कर देखिन्छ । लालिगुराँसको बोट समेत हिउँले सेताम्मे भएको छ ।

शनिबार विहान एक्कासी मौसममा सुधार आएपछि चाँदी जस्तै टल्कने हिमालमा घाम ठोकिएपछि सु्नजस्तै टलक्क टल्किएको छ ।

रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण टोड्केमा बाख्लो हिमपातले थप सुन्दरतामा निखार ल्याएको छ ।यसबर्षकै बिहिबारदेखि परेको अत्याधिक हिमपातले टोड्के क्षेत्रमा घुम्न जानेलाई आर्कषित गरेको छ ।

हिमपात भएपनि बर्षाका कारण रोकिएकाहरू शनिबार मौसम खुलेपछि सवारीसाधनमा घुम्न जान थालेका छन् । हिउँको घुम्टोभित्र रहेको टोड्केमा सदरमुकाम बेनीबजार आसपासबाट घुम्न छोटो रुट भएकाले सहज भएको छ ।

फागुन, चैत्र र बैशाख महिनामा वनपाखाहरुमा राता, गुलावी र सेता रङ्का साथै विभिन्न १९ प्रजातिका लालीगुराँसले ढकमक्क छोपिने टोड्के माघ महिनामा हिउँको सेतो पर्दामा रमाउने गरेको छ । समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा अवस्थित टोड्केमा सुविधासम्पन्न रिर्सोट समेत सञ्चालनमा आएपछि घुम्न जानेलाई सहज भएको मात्रै छैन बसाई समेत लम्बिएको छ ।

टोड्के आसपासको जंगलका साथै प्यूठान जिल्लाको स्वर्गद्धारी आश्रमको शाखा समेत रहेको क्षेत्रमा बाख्लो हिमपातले खेल्न सहज भएको छ । टोड्केमा सदरमुकाम बेनीबाट विभिन्न पाँचवटा सवारीसाधन चल्ने रुट र हुलाकचोक बाट करिव साढे ५ घण्टाको पैदलयात्रामा पुलाचौर, गाजने हुदै जंगलभित्रबाट यात्रा गर्न सकिन्छ ।

पछिल्लो समय टोड्केमा पूर्वाधार विस्तारले समेत तिब्रता पाएको छ । टोड्केमा हाइअल्टीच्युड खेलमैदान, पार्क तथा अन्य पूर्वाधार समेत विस्तार भइरहेकाले केहीबर्षमा खेलकुद सहितका गतिविधिले समेत प्राथमिकता पाउने टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनको भनाई छ । जिल्लाको उच्च हिमाली बाहेक यसबर्ष तल्लो क्षेत्रमा समेत भारी हिमपात भइरहेको छ।

Leave a Reply