हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी‍-जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए । ‘आन्तरिक र बाह्य यातायात सम्पर्क बिच्छेद भएको छ’, उनले भने, ‘हिउँ पर्न रोकिएपछि एक्जााभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौँ।

बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ ।

बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको छैन । पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन् ।

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ ।

मुस्ताङमा अहिले दोस्रो पटक हिमपात भएको हो । यसअघि गत पुस दोस्रो हप्ता हिमपात भएको थियो । हिमपातले स्याउ र हिउँदेबालीलाई फाइदा गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।

हिउँले जमिनको सतहबाट भित्री सतहसम्म सिँचाइ गर्ने भएकाले अन्नबाली सप्रिनाका साथै फलफूल र तरकारीमा सिंचाइ हुने उनले बताए ।  स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ ।

उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । हिमपातका कारण म्याग्दीको ग्रामीण क्षेत्रको यातायात सेवा रोकिएको र दरबाङ–मुना, पोखरेबगर–चित्रे, फलामेडाँडा राम्चेलगायत ग्रामीण सडकमा हिउँ थुप्रिएपछि यातायातका साधन थन्किएका छन् ।

हिउँले पैदलमार्ग अवरुद्ध बनाएपछि धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा यातायात सम्पर्क बिच्छेद भएको त्यहाँका वडाध्यक्ष झंक छन्त्यालले बताए । उनका अनुसार २५० घरधुरीले उपभोग गर्दै आएको गुर्जाको इङलेखोला लघु जलविद्युत् परियोजना पनि बन्द भएको छ । धवलागिरि गाउँपालिका-२ लुलाङका वडाध्यक्ष गमप्रसाद विकले हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको बताए । आवतजावत गर्न र गाईबस्तुलाई आहाराको समस्या भएको उनले जानकारी दिए ।

Leave a Reply