मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष मगर बिच बाटोबाटै फरार भएका छन् ।

आफ्नै श्रीमानबाट भारतको कोठीमा बेचिएकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा मानव तस्कर जसबहादुर,दिल्लीमा कोठी चलाउने पार्वती मगरलाई नियन्त्रणमा लिएर फर्किने क्रममा मुख्य अभियुक्त जसबहादुर गाडीबाटै भागेको खुलेको छ ।

पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचनाको आधारमा गत माघ ४ गते मोटरसाईकलमा पुगेको प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमति र छोरी रेखा चन्द मगर लाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर भागेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर बेनी ल्याउँदा बाटोबाटै भागेको देखिन्छ,‘तीनै जना भाग्न खोजेको देखिन्छ,‘फरार जसबहादुरको खोजीकार्य भइरहेको छ’प्रनाउ राईले भने ।

उनले फरार अभियुक्तका बारेमा खोजीकार्यका लागि टोली नै परिचालन गरिएको बताए। सवारीसाधन भित्र रहेका एक प्रहरी र चालकलाई समेत नाटकीय तरिकाले आक्रमण गरी भकिम्लीको पात्लेबन जंगलतर्फ भागेका जसबहादुरको खोजीमा प्रहरीको टोली जंगलआसपासका क्षेत्रमा खटिएपनि अभियुक्तलाई फेला पार्न असफल भएको बताइएको छ ।

मुख्य अभियुक्त जसबहादुरका भागेको भोलीपल्टै देशको सीमा कटिसकेको सुचना प्रहरीलाई प्राप्त भएपनि हुलिया र ठेगानाका आधारमा खोजीमा जुटेको प्रहरीको दावी छ ।

‘अभियुक्त मिलेमतोमा भगाइएको आशंका सत्य होइन्,‘हामीले प्रहरीलाई अभ्रद ब्यवहार गर्ने छोरीलाई समेत कारागार पठाएका छौ’ प्रनाउ राईले भने । उनले दिल्लीमा कोठी चलाउने पार्वतलाई ब्यूरोमा पठाएकाले थप अनुसन्धानपछि सबै सार्वजनिक हुने बताए ।

अभियुक्तको खोजीको क्रममा जनशक्ती परिचालनमा केही कमजोरी भएपनि अभियुक्तलाई भगाउन खटिएका प्रहरीको कुनै संलग्नता नभएको बताउँदै खटिएका प्रहरीको असावधनीका बारेमा स्पष्टीकरण समेत सोधिएको छ । जसबहादुरलाई बेनी ल्याउँदै गर्दा हतकडी लगाउनुपनेमा नलगाइएकाले प्रहरीमाथि निरन्तर जाई लागेको प्रत्यक्षदर्शी सवारीचालकले बताए ।

जसबहादुर, उनकी श्रीमति पार्वती र छोरीले प्रहरीलाई आक्रमण गर्ने क्रममा सवारीसाधनको सिसा समेत फोडेको तथा सवारीचालक माथि समेत हातपात गरेका थिए । मुख्य अभियुक्त जसबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुन्छ ।

पीडित महिलाका श्रीमान लक्ष्मण क्षेत्रीको सहयोगमा जसबहादुर र पार्वतीले १६ वर्षअघि म्याग्दीकै एक महिलालाई भारतको कोठीमा बिक्रि गरेपनि ग्राहकको सहयोगमा महिलाको उद्धार गरिएको थियो ।

बि.श २०६२ को पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर बिक्री गरिएको थियो । पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन् ।

उनका श्रीमान्लाई ४ माघमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय उनका श्रीमान् वैदेशिक रोजगारीको क्रममा दुबईमा थिए । दुबईबाट फर्कंदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएपछि घटनाका थप अभियुक्तका बारेमा प्रहरीले पत्ता लगाएको थियो ।

गुडिरहेको गाडीबाटै कसरी भागे?
मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको जसबहादुर र उनकी श्रीमति केही समयअघि नेपालमा आएको सुईको पाएपछि प्रहररी खोजीकार्यमा जुटेको थियो ।फेसबुकमार्फत परिवारसँग सम्पर्क भई म्याग्दीकी एक महिलाको गत कात्तिकमा उद्धार भएपछि प्रहरीको टोलीले अनुसन्धानलाई तिब्रता दियो ।

नेपालबाट विभिन्न बाहनामा भारतमा लगेर बन्धक बनाउने र पीडितलाई कोठीमा बन्धक बनाएर यौनधन्दामा लगाउने जसबहादुर र पार्वती भकिम्लीमा रहेको जानकारी लगत्तै प्रहरीको टोली गत माघ ८ गते मोटरसाईकलमा भकिम्लीतर्फ प्रस्थान गरेको थियो ।

मोटरसाईकलमा पुगेको टोलीले अभियुक्तलाई गाउँमै देखेपछि थप सहयोगका बारेमा प्रहरीमा जानकारी गरायो । तत्कालै वडा अध्यक्ष पदमबहादुर पुनको सहयोगमा प्रहरीले स्थानीय तिलक रोकाको ग ३ च ५३८० बोलेरो ब्यवस्था गरियो ।

बोलेरोको भाडा समेत ३ हजार तिर्ने गरी रोकाले बेनीबाट यात्रु र सामान सहित डाडाखानीबाट जसबहादुर, उनकी श्रीमति र छोरीलाई दुई जना यात्रु सहित हालेर चिनाखेत पुगे । साधा पोशाकमा रहेका प्रहरीलाई देख्दा वित्तिकै बिरामीको बाहना बनाइरहेका जसबहादुरले बेनी फर्किने क्रममा एक्कासी छारे रोगको बाहना बनाएलगत्तै गाडी रोकियो ।

बस्तीबाट तल घुम्तीमा असज भएपछि चालक रोकाले गाडीलाई सुरक्षित गर्न खोज्दा एक्कासी तीनै जनाले प्रहरीलाई आक्रमणको प्रयास गरे । बिरामी भएको बाहना बनाइरहेका अभियुक्तले गाडी रोक्न ब्रेक लगाउन खोज्दा चालक रोकाले समेत प्रतिवाद गरेका थिए ।

‘मैले अपराधी भन्ने त्यती बेलाम मात्रै थाहा पाए,‘बिरामीजस्तै लागेको थियो,‘गाउँमा समेत कहिल्यै देखेको थिएन’ चालक रोकाले बेनीअनलाइनलाई भने । उनले तीनजनाले प्रहरीलाई लगातार प्रहार गरिरहेको अवस्थामा एक्कासी पुरुष नजिकैको पात्लेबन जंगलतर्फ भागेको बताए।

केहीबेरमा स्थानीय केही महिला देखिएपनि उनीहरुलाई समेत आक्रमणको प्रयास भएको थियो । प्रहरीले गाउँमै अपराधी भनेर जानकारी दिएको भए पूर्व तयारी गर्न सहज हुने स्थानीयको भनाई छ । फरार भएका जसबहादुरले मंगलाघाटमा आफन्तसँग समेत सम्पर्क गरेको पाइएको छ ।

Leave a Reply