बागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित भद्रकाली सेवा समूहमा सो अक्षयकोष खडा गरेका हुन् ।

अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, कला र मानवीय सेवाका क्षेत्रमा कार्य गरिने समूहका अध्यक्ष काजी रोशनले बताए । समूहले छोरीलाई मिर्गौला दान गर्ने बानपा–२ की पार्वती श्रेष्ठलाई सम्मान र वडा नं ३ की रिया राजभण्डारीको स्नातक तह अध्ययनको सबै खर्च व्यहोर्नसमेत निर्णय गरेको छ ।

पार्वतीले छोरी बिरन्तीलाई २०७४ सालमा मिर्गौला दान गरी नयाँ जीवन दिएकामा सो कार्यको सराहना गर्दै सम्मान गरिएको अध्यक्ष रोशनले बताए । यस्तै न्यून आय भएकी रियालाई अर्थाभावकै कारण पढाइमा समस्या आएपछि बिबीएस अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।

अक्षयकोषबाट आउने ब्याज रकमबाट वर्षेनी सम्मान, पुरस्कार र छात्रवृत्ति प्रदान गरिनेछ । अध्यक्षकोषको संरक्षक पनि श्रेष्ठ दम्पती रहेका छन् । सामाजिक सेवाको उद्देश्यले आमाको स्मृतिमा संस्था गठन गरी अक्षयकोष स्थापना गरिएको संरक्षक सुन्दरी श्रेष्ठले बताए । रासस

Leave a Reply