तस्वीर : सुरेन गुरुङ

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक अन्तर्गत ठाउँठाउँमा टाईम कार्ड लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत पुस १० गते पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म र गत माघ ६ गते म्याग्दीको महभिरदेखि नौनी बगरसम्मको सडकमा टाईम कार्ड लगाईएको थियो। बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङ बेनी-जोमसोम सडकको काभ्रेभीरमा बिस्फोटक पदार्थ प्रयोग गरी रक कटिङ गर्न टाईम कार्ड लागू गरेको जनाएको छ।

म्याग्दी प्रशासनले मालढुङ्गा-बेनी सडकमा बिहान १० बजेदेखि साझ ५ बजेसम्म टाईम कार्ड लगाएको थियो भने महभीरदेखि नौनी बगर सडकको अर्को स्थानमा माघ १० गतेदेखि २९ गतेसम्मका लागि बिहान ८ बजे देखि ११ बजे र दिउँसो १ बजे देखि ४ बजेसम्म सडक बन्द हुने जनाएको थियो। कालिगण्डकी करिडोरको सिफारिसमा म्याग्दी प्रशासनले सडक स्तरोन्नतिलाई तीव्ररुपमा अघि बढाउनुपर्ने भन्दै टाइम कार्ड लागू गरेको थियो।

यस्तै पछिल्लो पटक बुधबार मुस्ताङ प्रशासनले पनि बेनी-जोमसोम सडकको अर्को स्थानमा टाईम कार्ड लागू गरेको छ। आयोजना अन्तर्गत मुस्ताङको घासादेखि काभ्रेभीर लगायतका स्थानमा बिस्पोटक पदार्थ प्रयोग गरी सडक चौडा गर्न रक कटिङ गर्नुपर्ने भएको भन्दै फागुन १ गतेदेखि १५ गतेसम्मका लागि टाईम कार्ड लगाईएको जनाएको छ। जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सडक आवागमन पूर्ण रुपमा रोक लगाउने जनाएको छ।

तर उक्त खण्डमा यसअघि रक कटिङ गरी सडक चौडा गर्ने कार्य भइरहेको  भएपनि टाईम कार्ड लागू गरिएको थिएन। यसअघि बेनी-जोमसोम सडकमा टाइम कार्ड लागु नहुँदा सडक स्तरोन्नति कार्यमा बाधा पर्दै आइरहेको थियो। म्याग्दी प्रशासनका अनुसार बेनी-जोमसोम सडकको काभ्रेभिरमा माघ १० गतेदेखि माघ २९ गतेसम्मका लागि दैनिक ६ घण्टा सडक आवागमन बन्द गर्ने गरी टाइम कार्ड लगाइएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यात्रु वर्गलाई आवागमनमा मर्का नपर्ने गरी टाईम कार्ड लगाईएको जानकारी दिए। राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक ३ स्थानमा अलगअलग टाईम कार्ड लगाईपछि मुस्ताङ आउजाउ गर्ने पर्यटक र स्थानीयलाई सास्ती हुने देखिएको छ। आर्थिक वर्ष २०७३/०७४ सालदेखि बेनी-जोमसोम-कोरला सडक आयोजना सुरु गरिएको थियो। बेनी-जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम-कोरला ११० किमी ७ खण्डमा काम भइरहेको थियो।

Leave a Reply