RSS

महतला भिरको पहरो फोडेर ट्र्याक खोलेपछि पश्चिम म्याग्दीको अत्यन्त दुर्गम मानिएको गुर्जा र लुलाङ गाउँका बासिन्दाको आफ्नै घर गाउँबाट मोटर चढ्ने रहर अब भने पूरा हुने भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–१ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत महतला भिरमा दुई वर्षको प्रयासपछि ट्र्याक खुल्दा त्यस क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ ।

गुर्जा र लुलाङको विकासका लागि बाधक मानिएको महतला भिरमा ट्र्याक खोल्नका लागि गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट रु दुई करोड, धौलागिरि गाउँपालिकाबाट रु २५ लाख र  वडा नं २ लुलाङबाट रु १५ लाख विनियोजन भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दरबाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुसको पहिलो हप्ता ठेक्का लागेको थियो । रु एक करोड ४९ लाख लागत अनुमान गरिएको सो योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादका कारण सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा काम सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुई प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताए ।

राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने महतला भिरमा वन कार्यालयको अनुमतिविना सडक निर्माण गर्न लागेपछि मुद्दा परेको थियो । त्यसको छिनोफानो नहोउन्जेलसम्म लुलाङको खोरिया गाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि–२ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताए ।

मुना–ढोरपाटन सडकखण्ड लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । महतला भिरको पहरो फुटाएर ट्र्याक खुलेपछि चालू आर्थिक वर्षमा नै खोरिया गाउँसम्म मोटर पुग्नसक्ने भएको छ । सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भएपछि म्याग्दी, बागलुङ, रुकुम, रोल्पालगायतका जिल्लाका हजारौँ सर्वसाधारणलाई सजिलो हुने वडा सदस्य मतिप्रसाद पाइजा बताउनुहुन्छ । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक निकै छोटो र सहज भएको उनले बताए ।

त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धौलागिरिको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि–३ का वडाअध्यक्ष पुर्म पुनले बताए । महतला भिरमा सडक ट्र्याक खुलेसँगै अब लुलाङमा सडक पुगेर गाडी चल्न पाइने लुलाङका ७४ वर्षीय खबहादुर बुढाले बताए । अक्करे पहाडमा करिब १०० मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन अझै केही समय लाग्ने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अर्यालले बताए । रासस

Leave a Reply