टाढाबाट हेर्दा ठूलो चट्टान वा पहरा जस्तो देखिने । नजिक पुगेपछि ओढारको आकार । सिँढी चढेर भित्रै उक्लिएपछि घरको झल्को मेटिने । अझ माथि जाँदा कोठैकोठा र तलैतला भएको । कोठाभित्र पुराना सामग्री समेत राखिएको छ । तलामाथि चढेर हेर्न पाउँदा आफ्नै घरको माथिल्लो तला (बुइँगल)मा उक्लिए जस्तो भान हुन्छ ।

हिमालपारीको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेका प्राचीन गुफा पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्न थालेका छन् । विगत केही वर्षयता देशैभर भ्रमण गर्नेहरुको सङ्ख्यामा वृद्धि भएसँगै मुस्ताङ भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा गुफा पर्न गएको हो । खासगरी उपल्लो मुस्ताङको छोसेर, छोन्हुपलगायत विभिन्न स्थानमा रहेका गुफा अवलोकन गर्नका लागि पर्यटकको आकर्षण बढेको छ ।

पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै मुस्ताङ पुग्ने पर्यटकहरु बढेका छन् । पर्यटकहरुले मुस्ताङका विभिन्न ठाउँमा रहेका प्राचीन समयमा मानवनिर्मित गुफाहरुको अवलोकन गर्दछन् । हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर तथा आकर्षक छ । त्यसमा पनि मुस्ताङ गुफा, गुम्बा, चैत्यका साथै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रले सजिएको छ । उत्तर–दक्षिण जोड्ने छिमेकी देश चीनसँगको सिमाना बहुचर्चित कोरला नाकाले समेत मुस्ताङप्रति आकर्षण बढेको पाइन्छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोसेरमा रहेको झोङ गुफा खासगरी पर्यटकहरुको रोजाइमा परेको स्थानीयवासी बताउँछन् । उक्त गुफाभित्र कुल १ सय ८ ओटा कोठाहरु रहेका छन् । तत्कालीन समयमा चिनियाँ र तिब्बतीयनहरुको आक्रमणबाट बच्नका लागि स्थानीयले ठूलो मेहेनतका साथ गुफा बनाएका थिए । उनीहरु त्यही गुफाभित्र लुकेर चिनियाँ र तिब्बतीयनहरुको आक्रमण हुनबाट ज्यान जोगाउन बसेको मुस्ताङीको भनाइ छ । स्थानीयले घरेलु हातहतियारको प्रयोग गरेर गुफाको निर्माण गरेका थिए । परम्परागत सीप र प्रविधिमा आधारित रहेर बनाइएका गुफा भित्रका कोठाहरु निकै कलात्मक, आकर्षक र मनमोहक देखिन्छन् ।

गुफाका हेरालु (कर्मचारी) युटिन गुरुङले तत्कालीन समयमा चिनियाँ र तिब्बतीयन नागरिकहरुको आक्रमणबाट बच्नका लागि गुफा बनाइएको बताउनुभयो । त्यसबेला तिब्बतीयनहरु आक्रमण गर्न र स्थानीयले पिउने पानी लैजानबाट रोक्न गुफामूनि कुरेर बसेका थिए । सोही क्रममा गुफाभित्र एकजना महिलाले तेलले नुहाएको चिनियाँ र तिब्बतीयनहरुले देखेपछि यिनीहरुसँग पिउने मात्रै नभई नुहाउने पानी समेत प्रशस्तै रहेछ भनी आक्रमण नगरी फर्किएको किम्बदन्ती रहेको हेरालु गुरुङले जानकारी दिनुभयो ।

पछिल्लो समय गुफा हेर्नका लागि मात्रै सिजनमा दैनिक १ सय जनाभन्दा बढी पर्यटकहरु उपल्लो मुस्ताङ पुग्छन् । गुफाको मर्मतसम्भारका लागि स्थानीयले आवश्यक पहल गर्दै आइरहेका छन्भने पर्यटकबाट शुल्क समेत लिने गरिएको छ । निकै आकर्षक देखिने मुस्ताङका गुफाको अवलोकनसँगै पर्यटकहरु कोरला नाकासम्मै पुग्छन् । तर पछिल्लो दुईवर्ष गुफाको भ्रमणमा पर्यटकहरुको कमी आएको छ । कोरोना संक्रमणको जोखिमले गर्दा पर्यटकीय क्षेत्र सुनसान बन्दा यसको प्रत्यक्ष असर विभिन्न क्षेत्रमा परेको हो ।

Leave a Reply