गएको बिहीवार र शुक्रवार परेको हिउँका कारण बन्द जोमसोम–लोमान्थाङ सडक आज (शुक्रवार) देखि खुुलेको छ । दुई दिन लगाएर डोजरको सहायतामा सडकमा जमेको हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

मुस्ताङको बाह्रगुङ मुुक्ति क्षेत्र गाउँपालिकाको समरदेखि लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको केन्द्र चराङसम्मको सडकमा जमेको हिउँ पन्छाएर सडक खुलाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सडकमा जमेको बाक्लो हिउँ डोजरले कोतरेर फालेपछि सडक सञ्चालकमा आएको हो ।

सडकमा जमेको हिउँ पन्छाएर एक हप्तादेखि बन्दसडक खुलाइएको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले बताउनुभयो । उहाँले सडकमा झन्डै दुई फिटसम्म जमेको हिउँ पन्छाएर सडक खुलेपछि आज बिहानैदेखि जीप, ट्रक र ट्र्याक्टर चल्न थालेको जानकारी दिनुभयो । पहिलो दिन चराङदेखि स्याङ्बोचे र दोस्रो दिन स्याङ्बोचेदेखि समरसम्म सडकको हिउँ पन्छाइएको थियो ।

सडकमा जमेको हिउँ पन्छाएर सडक सफा गरेपछि बीचमै रोकिएका सवारीसाधन तथा मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकमा जमेको बाक्लो हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

हिमपातले कतै उत्साह छाएको भए पनि हिमाली क्षेत्रमा भने लामो समयसम्म हिउँ रहने हुँदा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कोरला सडकको एक सय १० किलोमिटर दुरी रहेको छ ।

Leave a Reply