बागलुङमा झण्डै १३ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार गत मंसिर यता १२ हजार ८९५ जना मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयले मंसिर यता पालिकास्तरमा सञ्चालन गरेको मतदाता संकलन अभियानमा ५२ सय ८१ जना मतदाता थपिएको सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

अभियानबाहेक कार्यालयमा आएर तथा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा दर्ता हुनेहरुसहित १२ हजार ८९५ जना थपिएको उनले बताए । सरकारले स्थानीय निर्वाचनका लागि आगामी वैशाख ३० गते मिति तोकेपछि निर्वाचन आयोगले मतदाता संकलनको काम रोकेको छ । निर्वाचन आयोगले मतदाता संकलनको काम रोक्ने बेलामा बागलुङमा करिब दुई लाख एक हजार ६ जना मतदाता दर्ता रहेको उनले जानकारी दिए ।

‘यो नै अन्तिम होईन, भेरिफाई हुन बाँकी नै छ,’ उनले थपे, ‘दुई लाख एक हजार बढी मतदाता आगामी स्थानीय निर्वाचनका लागि कायम रहन्छन् भन्ने अनुमान हो ।’  कुल मतदातामध्ये एक लाख दुई हजार ६४३ जना महिला र ९८ हजार ३६३ जना पुरुष छन् । निर्वाचन आयोग अब निर्वाचनका अन्य कामहरु अगाडि बढ्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनाराण शर्माले बताए ।

२०७४ को स्थानीय निर्वाचनमा बागलुङमा ६९ प्रतिशत मतदाताले मतदान गरेका थिए । गत स्थानीय निर्वाचनमा एक लाख ५६ हजार ८६८ जना मतदाताले आफ्नो मदताधिकारको प्रयोग गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply