२०३४ सालमा राजा वीरेन्द्रको मध्यमाञ्चल भ्रमणको रिपोर्टिङमा राससका एक जना प्रतिनिधि र म थियौं । बसाइको स्टेसन हेटौंडा थियो । राजा दिनभर वरपरका जिल्लाहरु घुम्ने र हेटौंडा आएर बस्ने गर्दथे ।

रिपोर्टिङका लागि लगिएका हामीलाई राजाको सवारीको पछि जान भने दिँदैनथे । हामी सवारी मन्त्री हिरालाल विश्वकर्मासँग हुन्थ्यौं र टाढा जान पनि पाउँदैनथ्यौं । भ्रमणका सूचना हामीलाई तिनै मन्त्री र राजाको साथमा रहने दरबारका चिरनशम्शेर थापाले दिन्थे, हामी त्यसै आधारमा समाचार बनाएर पठाउँथ्यौं ।

राजाकै साथमा जान दिए राजाले जनतासँग गरेका अन्तर्क्रिया, विकासका सोचहरुबारे पनि जनचासोका समाचार बनाउँथ्यौं । तर माथिको आदेश भन्थे, साथमा जान दिँदैनथे ।

एक साँझ हामी आफैं घुम्न वीरगञ्ज पुग्यौं । राजा पनि दुई दिनअघि त्यहाँ गएका थिए । राजा वीरेन्द्र आफू पनि साँझपख अनौपचारिक रुपमा स्थानीय बजार हेर्न वीरगञ्ज पुगेका र रिक्सामा घुमेका रहेछन् ।

यसै क्रममा रिक्सा चालकलाई राजाले दुई हजार रुपैयाँ बक्सिस् दिएको कुरा स्थानीय पत्रकारबाट थाहा पाएका थियौं । अनि हामी चढेको रिक्सालाई पनि सोध्यौं– हिजो त यहाँ राजा वीरेन्द्रले रिक्सा चढिबक्सेछ, अनि रिक्सा चालकलाई दुई हजार रुपैयाँ पनि दिइबक्सेछ, ती रिक्सा चालक तिमी नै त होइनौं ? हामी चढेको रिक्साका चालकलाई सोध्यौं । ती रिक्सा चालकले भने ‘कहाँ हुनु हजुर, ऊ त नेपाली होइन नि भारतीय हो, सीमा वारिपारि गरी रिक्सा चलाउँछ ।’ बरु हामी नेपालीलाई नै सरकारले दिएको भए कति राम्रो हुन्थ्यो ? उनले भने ।

दुई वर्षअघि बागलुङका पुराना पत्रकार विदुर खड्काले आफ्नो चार दशकअघिको रिपोर्टिङ अनुभव हामीसँग स्मरण गर्दै थिए । उनी भन्दै थिए, ‘भ्रमणको अन्तिम दिन हामीलाई बल्ल राजासँग दर्शन भेट गराइयो ।’

भ्रमण दलका सदस्यलाई अन्तिम दिन दर्शन भेट गराउने प्रचलन थियो । राजाले निकै चासो दिएर कुरा गरे । चिरनशम्शेर थापाले पाँच मिनेट मात्र भेट हुन्छ अनि निस्किनुपर्छ भनेका थिए । तर राजासँग हामी आधा घन्टाभन्दा धेरै बस्यौं ।

मसँग धेरै प्रश्न गरे, जवाफ दिनैपर्यो । यो भ्रमण कस्तो भयो ? राजाले सोधे ।

मैले खोइ सरकार हामीले त अनुभव गर्नै पाएनौं भनेँ ।

किन ? राजाले सोधे ।

मैले भनेँ, ‘हामीलाई त भ्रमणबारे कुनै जानकारी पनि दिइएको छैन, उही बेलुका रेडियो नेपालबाट मात्र सुन्छौँ सरकार ।’

त्यसपछि राजाले चिरन शम्शेरतिर फर्केर ‘उनीहरुलाई भ्रमण पुस्तिका दिएको होइन र ?’ भनेर सोधे । थापा केही बोल्न सकेनन् । त्यसपछि राजाले बागलुङको खबर के छ भनेर सोधे ।

हामी जहिले पनि काठमाडौं बलेवा गर्दा जहाजका पाइलटहरुले बलेवा विमानस्थलको रनवे छोटो भएकाले जहाज लिएर बलेवा आउन निकै गाह्रो हुने गरेको, तपाईँहरुले कुरा उठाइदिनुपर्यो, समाचार बनाइदिनुपर्यो भनिरहन्थे । त्यो कुरा सम्झिएँ र भनेँ– सरकार बलेवा विमानस्थलको रनवे निकै छोटो छ, पाइलटहरु त्यहाँ जहाजै लान मान्दैनन्, त्यसमा सुधार गर्नुपर्‍यो ।

मैले यसो भनिरहँदा उता चिरन शम्शेरले राजातर्फ फर्केर, ‘सरकार त्यहाँ इन्जिनियर पठाइसकेका छौँ’ भने । मैले तुरुन्तै जवाफ दिएँ, होइन सरकार म यहाँ आएको सात दिनमात्र भयो त्यतिञ्जेलसम्म कोही गएको थिएन ।

राजाले त्यो काम डायरीमा टिप्न र ‘फलो’ गर्न अह्राए । त्यसको केही दिनमात्र अघि म काठमाडौंबाट बलेवा जाँदा पनि पाइलटले मलाई देखाउँदै भनेका थिए– यी हेर्नुस् न, कुश्माबाट घुमाएर विमानस्थलतर्फ लैजाँदा बाँस झाँङमा जहाजै ठोक्कियो कि जस्तो लाग्छ, रनवे निकै छोटो भयो । बलेवामा पाइलट आउनै नमान्ने भएकाले हामीलाई गाह्रो पनि परेको थियो, त्यसैले मैले त्यो कुरा उठाएको थिएँ ।

त्यसपछि भ्रमणका कुरा भए । मैले सरकार हामी समाचारदाताहरुलाई पनि समाचार संकलनका लागि साथमा जान पाए जनचासोका समाचार बनाउँथ्यौं भन्दिएँ । हामीलाई राजाको पछि जान नदिएर सवारी मन्त्रीसँग मात्र राखेकोमा मलाई रिस उठेको थियो र यो कुरा अन्तिम दिनको दर्शन भेटमा भनौंला भन्ने लागेकै थियो ।

त्यसपछि राजा वीरगञ्ज भ्रमणमा गएको र त्यहाँका रिक्सा चालकलाई दुई हजार रुपैयाँ बक्सिस दिएको प्रसंग त्यहाँ आयो । अनि मैले पनि ‘सरकार त्यो रिक्साचालक त भारतीय रहेछ नि’ भन्दिएँ ।

कसरी थाहा पायौं ? राजाले बडो उत्सुक भएर सोधे । हामी हिजो साँझ वीरगञ्ज गएका थियौं भनेँ । बडो आश्चर्य मान्दै राजाले हो र ? भने ।

वीरेन्द्र राजा विकासवादी थिए । जिल्लामा गएर जनताका समस्या र गुनासा सुन्ने अनि विकासका लागि स्थानीय अधिकारीहरुलाई आदेश पनि दिने । त्यसैले राजाले मेरा यति धेरै कुरा सुने । वास्तवमा अरु मानिसले त्यसरी राजासँग सवालजवाफ गरेर बोल्नै नसक्ने रहेछन् ।

हामी त पत्रकार भएर पनि त्यसरी बोल्न सकेको होला । यो सबै सुनेपछि राजाले मलाई सोधे– तिमी कतै विदेश गएका छौ ?
भारत गएको छु सरकार, मैले भनेँ । राजाले किन विदेश भ्रमणबारे सोधे भन्ने मलाई खासै केही थाहा भएन । पछि त विसं २०३८ मा राजा वीरेन्द्रको इजिप्ट र बहराइनको भ्रमणमा मलाई राख्नू भनेछन् ।

यसरी विदेश जान पाउँदा मलाई जीवनमा पहिलो पटक सबैभन्दा ठूलो खुशी लागेको थियो । मैले आफूले देखेका साँचो कुरा राजालाई बताउँदा त्यतिबेलै उनी कति खुशी भएका थिए र पछि मलाई यो पुरस्कार दिए भन्ने लाग्यो ।

यसबाट दरबारका वरिपरिका मानिसले राजालाई सही कुरा नभनेर कसरी गुमराहमा पारेका रहेछन् भन्ने पनि लाग्यो । यस्ता अनगिन्ती अनुभव थिए पुराना पत्रकार विदुर खड्कासँग । ५० वर्षभन्दा लामो समयदेखि पत्रकारितामै रमाएर गत हप्ता आठ दशकको उमेरमा अस्ताएका छन् विदुर ।

२०२१ सालमा पाटन क्याम्पसमा विज्ञान विषय पढ्दै गरेका उनीसँग जिल्लातिरबाट आएका मानिस भेट हुन्थे । त्यस समय खासगरी मुद्दा मामिला र राजनीतिको काम लिएर मानिसहरु काठमाडौं आउँथे ।

उनीहरुसँग जिल्ला, गाउँघरका खबर हुन्थे । ती खबर छपाउन पाए जिल्ला तथा गाउँघरको भलो हुने अथवा आफ्नो ठाउँका खबरले काठमाडौंबासीले थाहा पाउने जस्तो लाग्थ्यो । अनि न्युरोडतिरै बस्ने भएकोले दिउँसो यसो गोरखापत्र संस्थानतिर जान्थे र आफूसँग यस्तो खबर छ भन्थे । त्यस समय गोरखापत्रका पत्रकारहरु भैरव अर्याल, पुरु रिसाल, रामचन्द्र न्यौपाने आदिले उनलाई लेख्न सिकाए र खबर छापिदिए ।

त्यो खबर काठमाडौं कसरी पुग्यो भन्ने चर्चा जिल्लामा भएको उनले काठमाडौंबाट नै थाहा पाउँथे । यसरी पत्रकारितामा उनको चासो बढ्यो र लेख्न सिके ।

मैले गोरखापत्रमा खबर छपाउने कुरा कलेजमा पनि थाहा थियो । त्यसपछि पाटन क्याम्पसका प्रमुख गुरु मंगलराज जोशीले कलेजबाट प्रकाशन हुने ललिता नामको साहित्यिक पत्रिकाको सम्पादक बनाइदिनुभयो– खड्का भन्छन् ।

पछि गोरखापत्रको बागलुङ समाचारदाता भएर काम गरेँ । विसं २०२३ सालतिर नियुक्तिपत्र नै लिएर जिल्ला गएँ । मैले खबर भैरव अर्याललाई दिनुपथ्र्याे । हास्य ब्यंग्यकार अर्यालको शैली खुबै मन पथ्र्याे । कुनै खबरको बारेमा मैले थप स्पष्ट गर्न खोजेँ भने उनले भन्थे– धेरै प्रष्टवादी नबन, नेपालमा प्रष्टवादीहरुको कुनै काम छैन ।

राजनीतिक र सम्भ्रान्त घरानामा जन्मिएका विदुरलाई जागिरको खाँचो भने खासै थिएन । त्यसकारण पनि विना आम्दानीको पेसा पत्रकारिता अंगाल्न अनुमति थियो ।

बुवा तेजेन्द्रबहादुर खड्का पञ्चायतका मन्त्री, बागलुङ बजारमै घर । त्यस समय पत्रकारिता गर्न खर्च चाहिन्थ्यो, घरबाटै उनलाई खर्च जुटाउनुपथ्र्याे । उ बेला विज्ञान विषय पढेको मान्छे किन पत्रकारितातिर लागेको ? यो प्रश्नको उत्तर उनले पछि आफैंले पनि निकै खोजे ।

‘त्यसबेला मलाइ खबरको काम गर्न सोख लाग्यो, थालिहालँे, बा आमाले पनि नगर भनेनन् । मैले परिवार पाल्ने, घरखर्च चलाउनलाई जागिर खानु नपर्ने भएकोले पनि यो पेसा गर्दै गएँ यस्तै भयो ।’ उनी भन्थे– पत्रकारिता नशा रहेछ लागेपछि छोड्न नसकिने ।

पेशाकै रुपमा पत्रकारिता कसरी सुरु भयो ?

बिए पढ्दा कलेजमा तत्कालीन गृहमन्त्री रुद्रप्रसाद गिरीकी छोरी र म मिल्ने साथी थियौँ । म पढाइ सकेर घर आएँ ।

धौलागिरिका अञ्चलाधीश भएर आए जयप्रसाद शर्मा । उनलाई मन्त्री गिरीले भनेका रहेछन्– विदुर मेरो छोराजस्तै हो, उसले जे भन्छ त्यो गरिदिनु ।

शर्मा बागलुङ आएपछि विदुरलाई बोलाए र गृहमन्त्रीले केही गरिदिनु भनेकाले के गर्ने त भनेर सोधे । मलाई जागिर खानु थिएन, अरु के गर्ने ? पत्रिका निकालौं जस्तो लाग्यो । किनभने त्यस समय पत्रिका दर्ताको लागि पनि माथिकै आदेश चाहिने ।

दाइ भुपेन्द्रबहादुर खड्का र देवेन्द्र अधिकारीसँग परामर्श गरेँ । उहाँहरुले पनि भन्नुभयो, यसबाट कुनै कमाई हुँदैन तर बौद्धिक काम हो राम्रै हुन्छ । धौलाश्री नाम राख्ने भइयो र विसं २०२८ मा दरखास्त दिएँ । शर्माले यसलाई भोलि नै प्रमाणपत्र दिनू भने । तर त्यतिबेला सञ्चारले कुनै पत्रिका प्रकाशनको अनुमति नदिनू भनेको रहेछ ।

सहायक अञ्चलाधीशलाई गाह्रो परेछ । अब सकिन्न भनेछन् र उनी त राति नै भागेछन् । भोलिपल्ट अञ्चलाधीशले आफैं लेखेर दिए । तर उनलाई पछि धौलाश्री प्रकाशन गर्ने अनुमति दिएकै कारण धेरै स्पष्टीकरण पनि दिनुपर्‍यो भन्थे ।

विदुर सम्झिन्छन्, ‘उबेलाको पत्रकारिताको त के कुरा अञ्चलाधीशलाई नराम्रो लाग्ने समाचार आयो भने बन्दै गरिदिने नि । सबै अञ्चलाधीश कार्यालयमा प्रेस हुन्थ्यो, मुखपत्र छाप्थे । बागलुङमा पनि २०२६ साल तिरबाट धौलागिरि साप्ताहिक भन्ने मुखपत्र थियो अञ्चल पञ्चायतको ।

तर पत्रिकाप्रति निकै चनाखो हुन्थ्यो प्रशासन । के लेख्छ, खबर कहाँबाट ल्याउँछ भनेर निकै चियो हुन्थ्यो । अनि शब्दका अनेक अर्थ लगाइदिन्थे नजिकका मानिसले र उनीहरु निहूँमात्र खोजेर बस्थे ।’

बागलुङको क्याम्पस बनाउने बेलामा गल्कोट, ताराखोला आदि ठाउँबाट मानिसले श्रमदानस्वरुप ढुंगा बोकेर ल्याउँथे । यता जग्गा पास तथा रजिस्ट्रेसनमा पनि एक हजार रुपैयाँ बढी लिन्थ्यो मालपोतले । तर भौचर दिँदैनथ्यो । जनताको निकै गुनासो बढेकाले मैले यहाँको अनियमिताको बारेमा ‘रामकली’ शीर्षकमा एक कथा लेखेँ ।

त्यस कथामा श्रीमान श्रीमतीको वार्तालाप थियो र महंगी र भ्रष्टाचारको विषयमा केही व्यंग्य पनि थियो । तर त्यसै समयमा बजारका एकजना हरिजनले एउटा बाँदरलाई रातो कपडा लगाएर बजारमा ल्याउँथे र ‘नाच्यो रामकली नाच्यो’ भनेर नचाउने र केही पैसा उठाउने गर्थे ।

त्यसैले कोही व्यक्तिले भनेछन् अञ्चलाधीशलाई यो रामकली त तपाईँलाई नै भनेको हो भनेर । अञ्चलाधीश थिए लक्ष्यबहादुर केसी । अनि उनले मलाई बाँदर बनाउने भनेर खुबै कराए, हात खुट्टा भाँच्ने धम्की पनि दिए पत्रिका पनि केही समय बन्द गरिदिए ।

खड्का भन्छन्– यस्ता घटना धेरै छन् । उनीहरु कुनै छुल्याहाले केही भनेकै आधारमा त्यसो गर्थे, आफैले पढेर सही र गलत छुट्याउँदैनथे । त्यस्तै अर्का एकजना अञ्चलाधीशले एक दिन मलाई बोलाए र भने– हेर मैले चार हजार बजेटमा कार्यालयमा पर्खाल लगाउँदैछु समाचार लेखिदिनुपर्‍यो ।

मैले भोलिपल्टै लेखेँ ‘अञ्चलाधीश कार्यालय घेरिने’ भन्ने शीर्षकमा । बिहानै एकजना पुगेर उचालेछन् । अनि उनी कड्किए ‘मलाई चिनेको छस् ? कसले घेर्नसक्छ मलाई ? भनेर । समाचार नपढ्ने तर अर्काले लगाइदिएको चुक्ली सुन्ने र आफ्नो बनाइदिने । मैले त्यही शीर्षक राखेकोमा तीन महिना पत्रिका बन्द गराइदिए । आखिर समाचार पर्खालले घेर्ने भन्ने नै थियो ।

विदुरले धौलाश्री पत्रिका विसं २०२८ देखि निरन्तर २०५८ सालसम्म साप्ताहिक र त्यसपछि २०६३ सम्म दैनिक प्रकाशन गरे । त्यसपछि पत्रिका बन्द गरेर धौलाश्री डटकम सुरु भयो । अहिले ईबागलुङबाट नै धौलाश्री खुल्छ, जुन अनलाइन पोर्टल हो ।

दुई वर्षअघि म विदुरको बागलुङ बजारस्थित घरमै पुगेर केही घन्टा बिताएर कुराकानी गरेको थिएँ । त्यो समय पनि उनको दिन काट्ने मेलो पत्रकारिता नै थियो । भन्छन्, ‘मेरो त जीवन साथी नै पत्रकारिता भएको छ । बिहानदेखि राति निद्रा नलाग्दासम्म ल्यापटपमै हुन्छु, साथी भाइहरुले स्वयंसेवी रुपमा खबर पठाइदिन्छन् त्यही पोष्ट गर्छु, बस्छु ।’

विसं २०२१ देखि पत्रकारिता थालेका उनले भने– पेशा भन्ने कि सोख, यसैमा पहिचान बनाएँ र जीवन पनि यसैमा बिताएँ । अहिले सम्झिँदा अचम्म लाग्छ पत्रकारिताबाट मैले एक रुपैयाँ नकमाइ नै जीवन फालेँ ।

तर सन्तुष्टि यसमा छ कि मैले व्यापार व्यवसाय या जागिर गरेको भए पनि पैसा त कमाउथेँ होला, नाम कमाउँदैनथेँ ।

पत्रकारिता पहिले र अहिले

उनीसँग पचास वर्षभन्दा बढीको पत्रकारिता अनुभव थियो, त्यो पनि मोफसलबाट । अञ्चलाधीशदेखि मुख्यमन्त्रीसम्मका अनुभव, देखाई, लेखाई र भोगाई थियो उनीसँग । पत्रकारिता पहिले र अहिले आकास पातालको फरक देख्छन् उनी ।

अहिले प्रविधिले मानिसलाई मेसिन बनाइदिएकोले अहिलेको पत्रकारिताका कन्टेन्टहरुमा विचार भन्दा बढी गफगाफ देख्छन् उनी । अहिलेका पत्रकारमा उनले फिल्डमा नजाने, खबर बनाउन अल्छी गर्ने र त्यसको पुष्ट्याईँका लागि मेहनेत नगर्ने बानी देख्छन् ।

खड्काले भनेका थिए– ‘पत्रिकामा आएका विचारले नागरिकको विचार बदलिन्थ्यो, यथार्थ बुझ्न पाउँथे र सही गलत छुट्याउन पाउँथे । तर अहिले भद्रगोल छ । पार्टी अनुसारका मिडिया र गलत नै भए पनि आफ्नो पार्टीको खबर भनेपछि सही भन्ने गरेको देख्छु ।

पहिले त छापिई आएको कुरा गलत होइन भन्ने हुन्थ्यो । अनि कुनै समाचार छापिएर आएपछि त्यसको विश्वसनीयतामाथि धेरै प्रश्न उठ्दैनथ्यो । त्यसबारेमा सरकारले चासो राख्ने, अनुसन्धान थाल्ने, गुप्तचर खटाउने गर्थे । तर अहिले त्यस्तो देख्दिन ।

करोडौं अर्बौं भ्रष्टाचार भयो भनेर समाचार आएको हुन्छ तर त्यसमाथि राज्यको खोजीनीतिको चासो नै छैन । अनि मिडियाले पनि फेरि जे लेखे पनि हुनेजस्तो छ । प्रविधिले धेरै कुरा सजिलो त बनाइदिएको छ तर विचारको उत्पादन भन्दा पनि मान्छेलाई बढी सतही बनाइदिएको छ ।

छापिएका सामग्री बग्रेल्ती छन् तर तिनमा गहिराई छैन, विषयवस्तुप्रतिको स्पष्टताको कमी देखिन्छ । उबेला पत्रकारिता सोख र विचारले गरिन्थ्यो । तर अहिले बढी जागिरेजस्तो देखिन्छ । अनि स्वतन्त्र पत्रकारितालाई राजनीतिक दलप्रतिको विचार र झुकावले थिचेको जस्तो देखिन्छ । पत्रकारले सही र गलत स्पष्टसँग देखाइदिन सक्नुपर्छ ।’

पत्रकारिता जीवन साथी

उनकी श्रीमतीको २०६५ सालमा निधन भयो । छोराहरु बेलाबेलामा घरमा आउथे । असी पुग्ने बेलासम्म उनको जीवनको उत्तराद्र्धको साथी पनि पत्रकारिता नै बन्यो ।

अनुभव सुनाएका थिए, ‘जागिर रिटायर्ड भएका मानिस अब के गरेर बस्ने भनेर खुब आत्तिएको देखेको छु, तर मलाई त्यस्तो केही छैन । बिहानैदेखि मेरो साथी हुन्छ ल्यापटप । खबरमै खेल्ने र रमाउने गरेको छु । दिन काट्न गाह्रो छैन ।’

उनीसँग समाचारदाता या कुनै स्टाफ भने थिएनन् । अनलाइनलाई विज्ञापन माग्न हिँड्दैनथे । उनलाई जिल्लाका कुनाकाप्चाका पत्रकार या स्वतन्त्र व्यक्तिहरुले समाचार पठाइदिन्थे । त्यही समाचार छाप्थे । अनि तीनै खबरदाताहरुबाट उत्कृष्ट समाचार पठाउने पत्रकार तथा स्वतन्त्र व्यक्तिलाई सुगंगा सञ्चार प्रालिका तर्फबाट पुरस्कार दिने गर्थे ।

उनलाई समाचार पठाउने कतिपय त यस्ता मान्छे छन् कि वर्षौं भयो उनीसँग देखभेट छैन ।

खबरमै आफूलाई भूलाउँछु र मनलाई म एक्लो भएको आभास हुन दिन्न । कुनै दिन काट्न गाह्रो होला जस्तो भयो भने पुराना अनुभव सम्झिन्छु, नयाँ सिर्जना गर्छु र पोष्ट गर्छु ।

उनले स्वर्गीय आमा र श्रीमतीको स्मृतिमा स्थापना गरेको सुगंगा प्रतिष्ठानबाट वर्षेनी धौलागिरिका स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।

(यही माघ १९ गते निधन भएका वरिष्ठ पत्रकार स्वर्गीय विदुर खड्कासँग राससका प्रधानसम्पादक एकराज पाठकले गरेको कुराकानीमा आधारित ।)

Leave a Reply