गाउँमा विकासको लहर आयो । पहिले खानेपानी आयो । एक घन्टा तल पुगेर डोको र नाम्लोले गाग्रीमा पानी बोकेर ल्याउने बाध्यता टर्‍यो । गाउँलेलाई पानी जोहो गर्नलाई हाइसुख्ख भो । बिजुली आयो, ढिप्री बाल्नु परेन । घर गाउँ उज्यालो र झलमल भयो । अँध्यारा दिन गए ।

विद्यालय, बाटो, पुल क्रमशः बने । धेरै समयसम्म गाउँ नजिकैको खोलो बगेरै गयो, थुनेर फाँटमा सिँचाइ गर्नेतिर कसैले सोचेन ।

धेरै नेताहरू बाटो, भवन, पुल नै विकास हो भन्दै हिँड्दा पोहोर भने कताबाट वुद्धि पलाएछ कुन्नि ? गाउँ नजिकैको खोलो थुनेर कुलो बनाउने योजना पर्‍यो । योजना मात्र परेन, त्यसपछि गाउँको फाँटले पानी पायो ।

सधैँ बर्खे खेती मात्रै हुने ठाउँमा हिउँदे खेती पनि हुन थाल्यो । कोरोना कहर र लकडाउनको असरले सहरको नजिकै भएर पनि पूरै सहर पस्न नसकेको गाउँमा मान्छे फर्किए । युवाहरू खेतीपाती गर्न थाले । काउली फलाए, बन्दा फलाए, सिमी, मटरकोसा फलाए । धेरै युवा गाउँमै बसे, गाउँका केही उत्पादन त नजिकैको सहरसमेत काटेर राजधानी काठमाडौंसम्म नै पुग्न थाल्यो ।

‘गाउँ–गाउँमा सिंहदरबार’ भएकाले पनि होला यस्ता परिवर्तन तीव्र गतिमा भइरहेका छन् । यो वर्ष त बाटो पनि पिच भयो । बाटो पिच भएपछि मान्छेको चहलपहल झनै बढ्यो । फाँटमा कतै पहेँलै तोरी फुलेको, कतै गहुँ हरियो भएको त कतै फापरको रातो फूलले गाउँको सुन्दरता थपिदियो । कुनै अनुपम चित्रकारले कोरेको स्वप्निल बगैँचा जस्तो देखिन थाल्यो  गाउँ । डिजिटल युग न हो, केहीले मोबाइलमा क्लिक गरेको मिनेटभरमा नै यो ठाउँ सबैको आँखामा पुग्यो ।

गाउँ डुल्नलाई तरुण तन्नेरी आए, प्रौढ आए । बिदाका दिन शिक्षक आए । कर्मचारी आए । डाक्टर आए । इन्जिनियर आए । व्यवसायी आए । बिदामा गाउँ फर्केका लाहुरे पनि भाइरल गाउँ आए । गाउँको सुन्दरताले त्यहाँ आउने सबैको आँखाका ढकनी उघारिदियो । सुन्दरताको वाणी मुखरित हुन थाले । धेरैले गाउँमै घरजम गर्ने योजना नै बनाए । कसैले यतै जग्गा किनेर घर बनाउने निधो नै गरे । जे होस् सबैतिर गाउँको चर्चा भइ नै रह्यो । सबैले गाउँको फोटो खिचे, फेसबुकमा राखे, टिकटक बनाए, भाइरल भयो । त्यही हुलमा राम्रा मात्र आएनन्, दलाल आए । बिचौलिया पनि आए ।

भर्खर–भर्खर प्रेमको पोखरीमा पौडिँदै गरेका एक नवजोडी पनि त्यही हुलमा रमाउँदै टिकटक बनाए । आगामी वर्ष पनि यो मौसममा, यही स्थानमा आउने वाचा गरेर फर्किए । स्वधन्धामा लागे ।

गत वर्ष डेटिङवला जोडी यस वर्ष बिहेपश्चात्का नवजोडी भइसकेका थिए । हिउँद याममा गत वर्ष भाइरल भएको आफ्नो पहिलो डेटिङ गएको ठाउँ सम्झे । सधैँ भाइरलकै पछि लाग्नेहरूलाई त त्यस्ता ठाउँ कति आए कति ! उनीहरूको जीवनको सुरुवात भएको स्थान किन बिर्सन्थे र ? बिदाको दिन त्यतै हुइँकिए ।

गाउँ त्यही थियो, ठाउँ त्यही थियो । परैबाट देखे । गत सालको जस्तो न तोरी फुलेको थिए, न फापर, न त हरियो गहुँ नै । अहिले त त्यहाँ अलिअलि घर ठडिएका थिए । त्यो ठाउँमा पस्ने चोकमा ठूलो बोर्ड थियो । जहाँ लेखिएको थियो- ‘भाइरल गाउँमा आकर्षक घडेरीहरू सुपथ मूल्यमा बिक्रीमा’ ।

Leave a Reply