२७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र म्याग्दीले कार्यालय भवनको शिलान्यास गरेको छ । बेनी नगरपालिका ७ स्थित महारानीथानमा सहिद मदन स्मृति भवन नामाकरण गरिएको भवनको सहिद परिवारकी खिमाकुमारी केसीले शिलान्यास गर्नुभयो । जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा ज्यान गुमाएका म्याग्दीका सहिद मदन केसीका आमा केसीले भवनको शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यासमा जिल्ला संयोजक तथा सहिद परिवारका सदस्य रेशम जुग्जाली, सहित परिवारका सदस्य गणेश सुवेदी, जिल्ला इन्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायतको सहभागीता रहेको थियो ।

भवनको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज पौडेलले जनयुद्धमा म्याग्दीबाट ज्यान गुमाउने सबै सहिदहरुको स्मृतिको प्रतिकको रुपमा पार्टी कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो । माओवादी जनयुद्धमा जिल्लाबाट ७८ जनाले ज्यान गुमाएका थिए ।

पार्टीका नेता तथा कार्यकर्ताहरु र शुभेच्छुकहरुबाट आर्थिक संकलन गरि भवन निर्माण गर्न लागिएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३४ लाख लागतमा जग्गा खरिद गरि दुई तलाको पार्टी कार्यालय भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको लागि

४० लाख लागन अनुमान गरिएको निर्माण समितिका संयोजक नगेन्द्र केसीले जानकारी दिनुभयो । भवन निर्माणमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत ३५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । बेनीमा कोठा भाडामा लिएर पार्टी कार्यालय सञ्चालन हुँदै आएकोमा पार्टी कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न लागिएको जनाइएको छ ।पार्टी कार्यालयको भवनका लागि जग्गा खरिद र भवन निर्माणमा सहयोगार्थ अहिलेसम्म ४१ लाख बोल रकममध्ये १४ लाख नगद संकलन भएको पार्टीका आर्थिक विभाग प्रमुख रिम केसीले जानकारी दिनुभयो । पार्टीले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई आर्थिक सहयोगका लागि आह्वान समेत गरेको छ । कार्यक्रममा जनयुद्ध विदसको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

Leave a Reply