सदरमुकाम बेनी बजारभित्रको सडकमा गत पुस १ गतेदेखि लागु भएको एकतर्फी यातायात सञ्चालन स्थगित भएको छ । बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो ।

एकतर्फी यातायात सञ्चालन हुदाँ ब्यवसायमा गम्भीर असर गरेको भन्दै पटक–पटक ब्यवसायीले नगरपालिकासँग छलफल गरेका थिए ।

सोमबार बसेको सरोकारवालाहरुको बैठकले नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालनलाई अर्को निर्णय नहुदाँसम्मका लागि स्थगित गर्ने सहमति भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘ब्यवसायलाई नै धरापमा परेको छ, ट्राफिक ब्यवस्थापनमा निजी क्षेत्रले पनि सक्ने सहयोग गरेकै छ’ अध्यक्ष कटुवालले भन्नुभयो । एकतर्फी नियम हटाउन व्यवसायीले समेत दबाव दिएका थिए ।

नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो । बजारभित्रका व्यवसायी र टोल सुधार समितिको माग अनुसार दुईतर्फी यातायात खुलाउने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,जिल्ला ट्राफिक कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी बजार स्थित टोल सुधार समितिका पदाधिकारी बिच छलफल गरिएको थियो ।

बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन गरिएपनि निर्णयबाट पछाडी हट्दा समस्या भएको बताउनुभयो ।

बजारभित्र क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्ने गरिएको थियो ।

यसअगाडी एकतर्फी पार्किङ प्रभावकारी भएपनि सरकारी कार्यालय अगाडी पार्किङ नगर्न निर्देशन दिने र ब्यक्तिको घर अगाडी मात्रै लगातार पार्किङ गर्दा समस्या भएको बजारबासीले गुनासो गरेका थिए भने नगर र ट्राफिकको सहकार्यमा बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको थियो । नगरपालिकाको अनुरोध अनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाए समेत सघाएका थिए ।

Leave a Reply