नेपालीमा एउटा चर्चित उखान नै छ ‘कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तै भएको छ म्याग्दीको सदरमुकाम बेनीबजारको एकतर्फी यातायात सञ्चालन ।

नगरपालिकाको कार्यालयमा गएको मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकमा एकमतले वडा नं ७ र ८ मा पुस १ गते देखि प्रभावकारी रुपमा एकतर्फी यातायातको रुट तय गर्ने निर्णय भएपनि दुई महिना नवित्दै स्थगित भएको छ ।

बजारभित्रका सडक साँघुरो भएको र दोहोरो सवारीका कारण दुर्घटना र जाम लगायतको ट्राफिक समस्यालाई समाधान गर्न भन्दै नगरका जनप्रतिनिधि, सुरक्षा निकाय सहितको टोलीले एकतर्फी चिन्ह सहित सवारीसाधनका प्रयोगकर्ताले समेत रुटको प्रयोग गर्न थालिसकेको अवस्थामा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु परेको छ ।

एकतर्फी यातायातलाई एक महिना परीक्षणपछि स्वत कार्यान्वयनमा आउने गरी निर्णय भएपनि दुई महिनापछि जनप्रतिनिधि र निजी क्षेत्रको पहलमा निर्णय स्थगित भएपछि मंगलबारदेखि दुईतर्फी सवारीसाधन आवतजावत गर्न थालेको छ । एकतर्फी यातायातले चहलपहल भएको भन्दै उत्साहित ब्यवसायीले समेत विरोध जनाए ।

म्याग्दी उद्योग वाणिज्य संघमार्फत जनप्रतिनिधिलाई कोरोनाले अस्तब्यस्त भएको ब्यवसायलाई एकतर्फी यातायातले थप समस्या भएको भन्दै निर्णय स्थगित गरी दुईतर्फी आवतजावतलाई निरन्तरता दिन गरिएको अनुरोधलाई जनप्रतिनिधिको समेत समर्थम प्राप्त भयो ।

Advertisement 

नगरका जनप्रतिनिधि र ब्यापारीको सर्मथनमा एकतर्फी यातायात स्थगित भएपनि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले भने हतारमा गरिएको निर्णय भन्दै असहमित जनाए ।

मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, वढा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल सहित सरोकारवाला निकाय पटकपटक बसेर गरिएको निर्णय गरिएको थियो ।

‘कोरोनाले अस्तब्यस्त भएको ब्यवसायलाई यो निर्णयले समेत थप समस्यामा बनायो,‘केहीलाई सहज धेरैलाई सास्ती भएको देखिएपछि स्थगितका लागि अनुरोध गरेका थियौं’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले भन्नुभयो ।

उहाँले बजारभित्रको ट्राफिक ब्यवस्थापनमा आवश्यकता अनुसरा निजी क्षेत्रको समेत सहयोग रहेको अवस्थामा यो रहर नभई बाध्यता भएकाले ब्यवसायीको अनुरोधमा काम गरिएको बताउनुभयो । दुर्घटना न्यूनिकरण सहितका सचेतनामुलक अभियानमा निजी क्षेत्रले गरेका प्रयासहरु कमजोर नभएको कुटवालको भनाई छ ।

यसअगाडी पटक–पटक नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,जिल्ला ट्राफिक कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी बजार स्थित टोल सुधार समितिका पदाधिकारी बिच छलफलबाट नै सहमति भएकाले अनावश्यक हल्ला गर्नुपर्ने अवस्था नभएको निजी क्षेत्रको तर्क छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन गरिएपनि निर्णयबाट पछाडी हट्दा समस्या भएको बताउनुभयो ।

‘निर्णयमा हाम्रो असहमति भन्दा ठूलो बजारभित्र हुने दुर्घटना न्यूनिकरणलाई सघाउने भएकाले एकतर्फीकै पक्षमा छौ,‘दुई महिनामा धेरै सिक्ने अवसर पनि पाइएको छ’ प्रमुख नेपालीले भन्नुभयो । उहाँले जनप्रतिनिधि र निजी क्षेत्रलाई ब्यवसायमा असर नगर्ने गरी एकतर्फी यातायातको अभ्यासलाई निरन्तरता दिन अनुरोध गनुर््भएको छ ।

बजारभित्र क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्ने गरिएको थियो ।

यसअगाडी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको थियो । नगरपालिकाको अनुरोध अनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाए समेत सघाएका थिए ।

एउटा निर्णय गरी कार्यान्वयनमा समेत प्रवेश गरिसकेको अवस्थामा पुनः स्थगित गरेर गलत नजिर समेत स्थापित भएको छ। बजारबासीको असहमित हुदाँ हुदै एकोहोरो कार्यान्वयन गर्छु भन्ने सरकारी निकायको जोडबल समेत सफल हुन नसकेको नतिजाको रुपमा समेत एकतर्फी यातायातको निर्णयलाई लिवन सकिन्छ ।

एकतर्फी पार्किङमा मनपरी
जिल्ला प्रशासन कार्यालय अगाडी रहेको फलफुलका ठेला हटाएर दुईपांग्रे सवारीसाधन पार्किङ गर्ने निर्णय भएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । सरकारी कार्यालय अगाडी सुरक्षाको कारण देखाउँदै पार्किङ गर्न आनकानी गर्ने सम्बन्धित निकायले सर्वसाधारणको घर अगाडी, साधुँरो गल्लीमा पार्किङमा कडाई गर्ने गरेको गुनासो समेत बजारबासीको छ ।

वर्षौंदेखि अस्तव्यस्त रहेको बेनीको पार्किङको समस्यालाई समाधान गर्न सुरू गरिएको एकतर्फी पार्किङ प्रभावकारी भएपनि सर्वसाधारणलाई सहज हुने सरकारी निकायको भवन बाहिर भने कार्यालय प्रमुख तथा ट्राफिक प्रहरीले नै पार्किङमा चासो देखाउने गरेको छैन् । ‘एकतर्फी पार्किङ आवश्यक भएपनि थप ब्यवस्थित हुन सकेको छैन,‘पार्किङलाई अझै सहज बनाउन सकिने अवस्थामा पनि ध्यान गएको छैन’ बिरेन्द्रचोकका एक ब्यवसायीले भने ।

दुवैतर्फ पार्किङ गर्दा पैदलयात्रीलाई आवतजावतमा कठिनाईका साथै बजारमा सवारीसाधनको चाप धेरै देखिन थालेपछि सार्वजनिक तथा निजी खुल्ला स्थानलाई प्राथमिकता दिँदै बजारभित्र ३ दिन बायाँ र ३ दिन दायाँतर्फ पार्किङ गर्न गर्ने गरी संकेत चिन्ह राखिएको थियो । बजारबासीले निर्णयको कार्यान्वयनमा सघाएको ट्राफिक प्रहरीको समेत भनाई छ ।

तर फुटपाथका पसल, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना समेत थप गर्न आवश्यकका बारेमा भने कुनै पहल भएको छैन् । बजारभित्र विद्यालयको बस रोक्न स्थान, जेब्रा क्रस, कन्भेक्स लेन्सको मर्मत तथा थप गर्ने तर्फ बजेट नै अभाव कारण देखाइएको छ भने खाल्टाखुल्टी पुर्न समेत आर्थिक बर्षको अन्त्य वा निर्वाचनको मुख कुरेजस्तो देखिन्छ । बजारभित्र खाल्टाखुल्टीका बारेमा समाचार प्रकाशित गर्दा समेत जनप्रतिनिधिले नै कानमा तेल हालेर बसेका छन् ।

Leave a Reply