बेनी नगरपालीका-२, बगरफाँट निवासी बिनिता शर्माको उपचारमा निरन्तर आर्थिक समस्या भएको छ । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि बिनिताको विगत ८ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि थप आर्थिक समस्याले उपचारमा समस्या भएको पत्रकार धु्रबसागर शर्माले बताउनुभयो । ‘पछिल्लो समय उपचारमा आर्थिक समस्याले सताइरहेको छ,‘मेरो कमाईले मात्रै उपचार सम्भव भएको छैन’ शर्माले भन्नुभयो ।

साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका पत्रकार शर्माले छोरी बिनिताको उपचारका बारेमा बुधबार बेनीअनलाइनसँग कुराकानी गदैं आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले थप आर्थिक आवश्यकता रहेको बताउनुभयो । ‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ, यस अगाडि प्राप्त सबै सहयोग उपचारमै सकियो’, शर्माले भन्नुभयो । विगत ९ महिनादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ ।

अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिकले सताइरहेको पत्रकार शर्माको गुनासो छ । हालसम्म किमो, थेरापी र एउटा अप्रेशनसहित औषधि र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटवासीसहितको अभियानमा संकलन भएको रकमसहित २० लाख खर्च भएको थियो । उहाँले यसअगाडी प्राप्त सहयोगले उपचारमा धेरै सहज भएको बताउनुभयो ।

मुख्य अप्रेशन गर्न र थेरापी लगायतका उपचार बाँकी रहेकाले अझै ७ देखि ११ लाख रुपैयाँसम्म उपचारमा खर्च लाग्ने पत्रकार शर्माको भनाई छ । पत्रकारिता र निजी विद्यालयमा शिक्षण पेशाको कमाईले ठूलो परिवार, छोराछोरीको शिक्षादीक्षा लगायतमा खर्च हुने गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी २० वर्षीया बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँचपछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो।

Advertisement 

त्यसपश्चात् उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लगिएको थियो। पीडित शर्माको पहिलो चरणको अभियानमा संकलन आर्थिक सकिएपछि अब दोस्रो चरणको अभियान सुरु भएकाले आर्थिक सहयोग अभियानमा साथ दिन अपिल गरिएको छ। सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पत्रकार शर्माको राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा रहेको खातामा सिधै जम्मा गर्न सकिन्छ।

Leave a Reply