भारतमा यौनगृह सञ्चालन गरेकी पार्वती चन्दले श्रीमानलाई नेपालमै सक्रिय बनाउन खोजेको पाइएको छ । लामो समयदेखि भारतमा वेश्यावृत्तिका लागि तोकिएका घरमा काम गरेकी पार्वतीले बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीषसँग विवाह गरेकी थिईन् ।

कोठी (यौनगृह) मा काम गर्दा राम्रो कमाई नभएपछि म्याग्दीबाट श्रीमानलाई भेटाउने बाहनामा एक महिलालाई लगेर बेच्ने क्रममा चन्द र श्रीषको सम्बन्ध जोडिएको थियो । कोठीमा महंगोमा युवती बिक्री हुन छोडेपछि डेढ दशकदेखि आफैं धन्दा चलाइरहेका श्रीष नेपालमै सक्रिय भएर श्रीमतीलाई भारतमा सघाउन खोजेका थिए ।

दशैंमा परिवारलाई भेट्न गाउँमा पुगेका श्रीषले वडा कार्यालयमा पुगेर नागरिकता र विवाह दर्ता गरी भारतमा रहेको सम्पत्ती नेपालमा ल्याउने र पोखरामै बसेर ब्यवसाय गर्ने योजना रहेको भकिम्लीका स्थानीयलाई सुनाएका थिए ।नागरिकता बनाउने प्रक्रियामा वडा अध्यक्ष पदमबहादुर पुनले भारतीय मुलकी महिलाजस्तै देखिने श्रीमतीलाई सिधै नागरिकता सिफारिस गर्न अस्वीकार गरेपछि फर्किएका भोलीपल्टै पोखरा फर्किएका थिए ।

Advertisement

गत माघ ३ गते पुनः नागरिकताका बनाउन परिवारसँगै गाउँ पुगेका थिए । श्रीषको विगतको चालचलन राम्रो नभएकाले वडा अध्यक्ष पुन सहित जनप्रतिनिधिले प्रक्रिया लाग्ने भन्दै आलटाल गरेपछि असन्तुष्ट भएका थिए। ‘आफुँ पोखरामा बसेर श्रीमतीलाई भारत पठाउने बताउँदै थिए,‘पोखरामा बसेर ब्यवसाय गर्न घडेरी समेत किनेको सुनाउँदै थिए’ वडा कार्यालयमा भेटेका एक स्थानीयले भने ।

रोजगारी दिने ब्यवसाय भएकाले लामो समयसम्म श्रीमतीलाई नेपालमा राख्न नसक्ने बताउँदै आएका श्रीषले पोखरामा नयाँ ब्यवसाय गर्ने गरी २० लाखको घडेरी समेत किनिसकेको स्थानीयलाई बताएका थिए ।

भारतमा श्रीमतीको ब्यवसाय रहेको बताउने गरेकाले उनीहरूको कोठी अझै सञ्चालनमा रहेको स्थानीयको अनुमान छ। कोरोनाको पहिलो र दोस्रो लहरसँगै भारतबाट नेपाल पसेकी पार्वती र उनका श्रीमान जसबहादुर पोखरा र बेनीबजारमा कोठा भाडामा लिएर बसेका थिए । वैदेशिक रोजगारी तथा अन्य कारोबारका लागि बैक खाता खोल्न समेत नागरिकता आवश्यक पर्ने भएकाले उनले आफन्तलाई समेत सहयोग मागेका थिए ।

नागरिकता बनाउँन निकै हतार गरेको देखिन्थ्यो,‘कमाई हुने क्षेत्रमा काम गरिरहेको छु भन्दै गाउँलेलाई समेत सुनाएका रहेछन्’वडा अध्यक्ष पुनले भने । प्रहरीलाई नै आक्रमण गरी बिच बाटोबाटै भागेकाले जसबहादुरको योजना फरक रहेको हुनसक्ने आशंका भकिम्लीबासीको छ । भारतमा बेचिएकी म्याग्दीकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा जसबहादुरको धन्दा सार्वजनिक भएको थियो ।

जाहेरीका आधारमा माघ ४ गते गाउँमा पुगेको प्रहरीको टोलीले बेनी ल्याउँदै गर्दा जसबहादुर र उनकी श्रीमति, र छोरीले प्रहरीलाई आक्रमण गरेका थिए । श्रीमानलाई भगाउन पार्वती र उनकी छोरीले प्रहरीमाथि आक्रमण गदैं गाडी समेत तोडफोड गरेका थिए । श्रीमानलाई ज्यानकै जोखिम मोलेर भगाउन सफल भएकी पार्वतको गतिविधिले नै उनीहरूको नेपाल बसाई थप रहस्यमय बनेको घटनाका प्रत्यक्षदर्शीको भनाई छ । मोटरसाईकलमा पुगेको प्रहरीको टोलीले स्थानीय तिलक रोकाको ग ३ च ५३ ८० बोलेरोमा राखेर ल्याएको थियो ।

चालक रोकाले समेत पार्वती चन्दको गतिविधिलाई सामान्य महिलको रुपमा लिन नहुने बताए ।‘उनीहरुको प्रहारले एक प्रहरीको नै ज्यानै जाने खतरा थियोे,‘ढुंगाले सिधै प्रहार गर्दा बोलेरोको सिसा फुट्यो’चालक रोकाले भने । बोलेरोबाटै चन्द र छोरी समेत भाग्न खोजेपनि सफल भएका थिएनन् । कोठी चलाउने पार्वतलाई ब्यूरोमा पठाएकाले थप अनुसन्धान भइरहेको छ भने फरार श्रीषको सम्भावित क्षेत्रमा खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

मुख्य अभियुक्त पार्वती र फरार जसबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुने जनाइएको छ । भारतमा सञ्चालित कोठीले राम्रो मुल्यमा यूवती किन्न छोडेपछि डेढदशक यता पार्वतीले नै कोठी सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । पार्वतीले विपन्न परिवारका यूवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा सिमापारी लैजान सघाउनेलाई २ लाख रुपैयाँ दिने गरेकाले उनीहरूबाट बेचिएकाको संख्या अहिलेसम्म खुल्न सकेको छैन् ।

श्रीमती हराएपछि माओवादीलाई लेखेको पत्र
बैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेका भकिम्लीकै लक्ष्मण क्षत्रीको श्रीमति र छोरालाई लिएर गएका जसबहादुरले यातायात भाडा र खानाको खर्च भन्दै श्रीमतिको एक तोला सुन समेत लगेको खुलेको छ ।आफन्तको पूजामा आएको बेलामा श्रीमानसँगै काम गर्ने भन्दै बि.श २०६२ को पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर सिधै यौनगृहमा बिक्री गरेका थिए ।

पीडित महिलाका श्रीमानले तत्कालिन समयमा प्रहरी र माओवादीका साथै भारतमा प्रकाशित हुने पत्रिकामा समेत सूचना दिएको देखिएको छ । पीडितका आफन्त समेत रहेका भकिम्लीका वडा सदस्य रत्नबहादुर जिसीले तत्कालिन समयमा खोजीकार्य भएको बताए ।

‘श्रीमानले नै बेचेजस्तो लाग्दैन्,‘यो घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्नुपर्छ’ उनले भने । भारतबाट आएर बेपत्ता श्रीमती र छोराको खोजीमा धेरै बर्ष विताएको समेत उनले बताए । बेचिएकी महिलाले फेसबुकमार्फत परिवारसँग सम्पर्क भई म्याग्दीकी एक महिलाको गत कात्तिकमा उद्धार गरिएको थियो ।

पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन् । श्रीमति भेटिएको खवर पाएपछि खाडीमुलुकबाट क्षेत्री नेपाल आउँदा ४ माघमा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । पीडित महिलालाई बिक्रीमा श्रीमानको संलग्नता बारेमा निस्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । यो समाचार सोमबारको बेनी साप्ताहिक समाचारपत्रमा छ ।

Leave a Reply