म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२ वटा पशुपक्षी फार्मलाई ५१ लााख अनुदान वितरण गरेको छ । विभिन्न पाँच वटा शीर्षकका कार्यक्रमबाट अनुदानका लागि छनोट भएका पशुपक्षी फार्मका सञ्चालकसँग सम्झौता सुरु भएको हो ।

नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रदीप गौतमले सार्वजनिक सूचनामार्फत सङ्कलित आवेदकका फार्मको स्थलगत अध्ययन गरी कार्यविधि अनुसार मूल्याङ्कन गरेर अनुदानका लागि छनोट गरिएको बताए । “प्रदेश र सङ्घीय सरकारबाट अनुदान नपाएका साना व्यवसायिक किसानलाई नगरपालिकाले समेटेको छ,” उनले भने, “छनोट भएका फार्मका सञ्चालकसँग अनुदान सम्झौता थालिएको छ ।”

शाखाका प्रमुख पशु चिकित्सक डा जनाश्रित श्रेष्ठले ५० देखि ७० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो । दूध, मासु र अण्डाको उत्पादन वृिद्ध, गुणस्तर सुधार गरी आत्मनिर्भर बनाउन बाख्रा, कुखुरा, गाईभँैसी र बङ्गुर फार्मलाई अनुदान उपलब्ध गराउन लागिएको उनले बताए ।

उनका अनुसार साझेदारीमा गाईभैँसी तथा बाख्राको गोठ, खोर मर्मत सुधार निर्माण अनुदान कार्यक्रमका लागि २० फार्म छनोट भएका छन् । यो कार्यक्रमबाट कुल लागतको ५० प्रतिशत वा अधिकतम रु २५ हजारसम्म अनुदान पाउनेछन् । मागमा आधारित मेसिनरी औजार उपकरणका लागि बढीमा ५० देखि ७० प्रतिशत अर्थात नगद रु २५ हजारसम्म अनुदान पाउन ८ वटा फार्म छनोट भएका छन् । १० वटा फार्मले पराल साइलेज तथा सुख्खा घाँस खरिद गरेर ल्याउनका लागि रु दुई लाख अनुदान पाउने भएका छन् ।

रु चार लाख बजेट विनियोजन भएको भैँसी विकासका लागि प्याकेज कार्यक्रममा २१ किसान आवद्ध आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्र बेनपा-६ छानिएको छ । रु दश लाख बजेट विनियोजन भएको बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रममा अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूह, पूर्जा पशुपक्षी तथा कृषि फार्म र पौरखी कृषि उद्यम केन्द्र छनोट भएका छन् । यसैगरी रु सात लाख बजेट भएको बाख्रा पकेटको फलोअप कार्यक्रमका लागि भकिम्ली ग्रामीण कृषि सहकारी र डडुवाको हराभरा किसान समूह छनोट भएका छन् ।

एक सय ५६ जनालाई जै र भेज प्रजातिको घाँसको बीउवितरण गरिसकेको नगरपालिकाले टियो सेन्ट्रि र सुडान जातको घाँसको बीउवितरणको तयारी गरेको छ । माछाको भुरा वितरण गर्ने कार्यक्रम पनि रहेको प्राविधिक गौतमले जानकारी दिए।

उनका अनुसार नब्बे जना विपन्नलाई १० वटाका दरले स्थानीय जातको कुखुराका ४० दिने चल्ला वितरण गर्ने र पशु स्वास्थ्यशिविर सञ्चालन गरेर गाउँमै उपचार सेवा दिने योजना पनि बनाइएको छ । सर्शत अनुदान शीर्षकमा रु २१ लाख बजेट आएको पशु सेवामा यी कार्यक्रमका लागि बेनी नगरपालिकाले थप रु ३० लाख बिनियोजन गरेको छ । रासस 

Leave a Reply