राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ६ वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको ६ करोड ३१ लाख बजेट विनियोजन भएको छ । छनौट हुनेमा बेनी नगरपालिका १०, रघुगंगा, धवलागिरी, मालिका गाउँपालिका ६÷६ र मंगला र अन्नपूर्ण गाउँपालिका ४÷४ विद्यालय छनौट भएका छन् । छनौटमा परेका विद्यालयमा भौतिक निर्माणमा कक्षाकोठा, ल्याब, आईसिटीलगायतका विषय रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छानिएका विद्यालयमध्ये आईसीटी ल्याब व्यवस्थापन १४, २ कोठे भवन ११, चारकोठे भवन ९ निर्माण गरिनेछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट चारकोठे भवन निर्माणका लागि आफ्नो विद्यालय छनोट भएकोमा भानु माविका प्रधानाध्यापक भरत खत्रीले खुसी ब्यक्त गर्नुभयो । विद्यालयमा भौतिक पूर्वाधारको अभावले समस्या भइरहेको अवस्थामा छनौट भएका विद्यालयलाई सहज भएको छ ।

Leave a Reply