म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई महिना अगाडी सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट पछि हटेपछि जनप्रतिनिधि, उद्योगी र प्रहरीको कुरा बाझिएको छ ।

गत पुस १ गतेदेखि बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको तथा सर्वसाधारणले समेत झन्झट मानेको भन्दै बजारभित्रका टोल सुधार समिति र ब्यवसायीको निवेदनका आधारमा नगरपालिकाको बैठकले तत्काल एकतर्फी यातायातको रुट स्थगित गरिएको निर्णय गरेको थियो ।

नगरका जनप्रतिनिधि सहित निजी क्षेत्र र प्रहरी प्रशासनको उपस्थिीतिमा निर्णय भएको सूचना जारी गरिएपनि बजारमा एकतर्फी रुट नै कायम हुने भन्दै ट्राफिकले कडाई गरेपछि सर्वसाधारण अलमलमा परेका छन् ।

सरोकारवाला निकायको निर्णय र भनाई बाझिएपछि सवारीसाधनका प्रयोगकर्ताले अनावश्यक सास्ती खेप्नुपरेको छ । एकतर्फी यातायात स्थगित भएको सूचनाका आधारमा सवारीसाधनमा यात्रा गरेका सर्वसाधारणलाई प्रहरीले फर्काउने गरेको छ भने ब्यवसायीले नगरपालिकाको निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाको निर्णय कार्यान्वयमा कस्सिएका टोल सुधार समिति, म्याग्दी उद्योग वाणिज्य संघ र जनप्रतिनिधिलाई प्रहरीले लिखित र आधिकारिक निकायबाटै सूचना आउनुपर्ने अडानले चुनौती दिएको छ । ‘एकतर्फी नियम कायमै छ,‘मलाई जानकारी छैन, स्थगितका बारेमा छलफल मात्रै भएको हो, टुंगो लागेको छैन’ प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भन्नुभयो ।

प्रनाउ राईले कार्यान्वयन भएको दुई महिनापछि स्थगितको सूचनाले नकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले एकतर्फी यातायातले दुर्घटनाका घटना सुन्यमा झरेको बताउनुभयो । प्रहरीले तत्काल रुट उल्लंघन गरी सवारीसाधन सञ्चालन गरेमा जरिवाना तिनुपर्ने भन्दै सचेत समते गराएको छ।

यता म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले टोल सुधार समितिले कार्यालयमा दिएको निवेदनको आधारमा सहजीकरण गरेको बताउनुभयो । ‘ब्यवसायीको समस्या हामीले नै हो समाधान गर्ने,‘बजारबासीलाई असहज हुने गरी निर्णय भएको अवस्थामा नगरपालिकाले नै तत्काल स्थगित गरेको हो’ अध्यक्ष कटुवालले भन्नुभयो ।

उहाँले कोरोनाले अस्तब्यस्त बजारलाई तंग्रिन दिनुपर्ने अवस्थामा जनप्रतिनिधिबाट भएको निर्णयलाई ब्यवसायीले कार्यान्वयन गर्ने बताउँदै दोहोरो नीति नलिन समेत अपिल गर्नुभएको छ । ‘नियमन गर्ने निकायबाट भएको नियमलाई कार्यान्वयन गछौ,‘टोलबासीको लिखित निवेदन आएपछि हामीले चासो देखाउनु जिम्मेबारी भित्रि पर्छ’ अध्यक्ष कटुवालले भन्नुभयो ।

बिरेन्द्रचोक, न्यूरोड, संगम चोक, गणेशटोल क्षेत्रका व्यवसायिहरु, टोल सुधार समितिले विना अध्ययन एकतर्फी यातायातको रुट कायम गरिएको गुनासो गरेका छन् । यता नगरपालिकाका जनप्रतिनिधिले निर्णयमा सहमति भएपछि कार्यान्वयनमा सबैको सक्रियता आवश्यक रहेको भन्दै अनावश्यक दवाव स्वीकार्य नहुने भन्दै सचेत गराएका छन् ।

बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार पुस १ गतेदेखि बेनी बजार भित्र क्याम्पसचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडीसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो ।

गत सोमबार बेनी नगरपालिकामा उद्योग बाणिज्य संघ, टोल सुधार समिति र सुरक्षा निकायका प्रतिनिधिहरुबिच भएको छलफलमा सुरक्षा निकायको असहमतीका बिच एकतर्फी यातायात सञ्चालनको निर्णयबाट नगरपालिका पछि हट्ने निष्कर्षमा पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

Leave a Reply