म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।
रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए ।

“पानी संकलन गर्ने ट्यांकी प्रयोगविहीन भएको छ, पाइप अभावले सयौं टुक्रा जोडेर घरमा पानी लिएर खाएका छांै, बजेटअनुसार आएको पाइप त्यसै थन्किएर बसेको छ, एक घर एक धारा सुविधाको भरपर्दा अहिले दिनको १० चोटि मूलमा नपुगेसम्म घरमा पानी आउँदैन्,” विकले भने ।

रानीपौवा बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले एक करोड ६६ लाख रुपैयाँ लागत रहेको आयोजना चार वर्षअघि सुरु भएको थियो । “खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट लागतअनुसारको काम सम्पन्न हुने किसिमले पूर्ण बजेट विनियोजन नगर्दा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ।”

“हरेक वर्ष एक÷दुई लाख रुपैयाँ बजेट पर्छ, अघिल्लो वर्ष दुई लाखको काम भए पनि कार्यालयबाट भुक्तानी नहुँदा हार्डवेयरमा सामानको पैसा तिर्न सकेका छैनौ, अहिले पनि ५० लाखभन्दा माथि बजेट आवश्यक रहेको आयोजनामा यस वर्ष दुई लाख बजेट परेको छ, यसबाट के काम गर्ने के नगर्ने अलमलमा उपभोक्ता समिति परेका छौं,” अध्यक्ष कार्कीले भने ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले संघीय कार्यक्रमअनुसार सञ्चालित यो योजना अघिल्लो वर्ष यस कार्यालयलाई हस्तान्तरण भएको थियो । “क्रमागत योजनाअनुसार रहेको यो योजनालाई अहिले आएको बजेट कार्यान्वयन गर्ने र अघिल्लो वर्ष काम गरेर बाँकी रहेको रकमलाई भुक्तानी गर्ने योजना कार्यालयको छ,” कार्यालय प्रमुख पौडेलले भने । “आगामी आर्थिक वर्षमा आयोजनालाई सम्पन्न गराउने बजेट विनियोजनमा कार्यालयले ध्यान दिनेछ ।”

Leave a Reply