म्याग्दीको धवलागिरी गाउँपालिका गर्भवती, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिइएको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण, बच्चाको तौल बृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसुति हुनेलाई घ्यु, अण्डा लगायतका पौष्टिक आहरा उपहारले महिलामा उत्साह थपिएको छ ।

बिहिबार गाउँपालिकाको वडा नं–२ लुलाङमा आयोजित पौष्टिक आहरा उपहार कार्यक्रममा महिलाले यस्ता कार्यक्रमले सरकारको उपस्थिती घरमै भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए । गाउँपालिकाले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसुति सेवामा पहुँच बढाउने र कुपोषण न्युनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले चार पटकको गर्भपरिक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यु र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपलहार दिने गरिएको बताउनुभयो ।

१५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा बृद्धी अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउँछन् । चालु आर्थिक बर्षमा ६ लाख बजेट बिनियोजन भएको यस कार्यक्रमबाट गाउँपालिका भित्रका सबै ७ वडामा सुविधा पाएका छन् ।

भौगोलिक रुप्मा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकामा यो अभियानले महिलालाई नियमित चेकजाँच सहित उपचारमा सहज भएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।

घरभित्रै सुत्केरी हुने अवस्थाको अन्त्य गर्न गाउँपालिकाले विभिन्न रचनात्मक र सन्देशमुलक कार्यक्रम सहित सेवासुविधा समेत उपलब्ध गराउने गरेको अध्यक्ष पुन मगरको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङमा गत बर्ष धवलागिरीका ३ सय जना सुत्केरी भएपनि पालिका भित्रैका संस्थामा सुरक्षित प्रसुति सेवा लिनेको संख्या १२९ जना थियो । धवलागिरीको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा उपलब्ध छ । गाउँपालिकामा बालविवाह न्यूनिकरण, आधारभुत स्वास्थ्य सेवा लगायतका अभियानलाई प्राथमिकता दिइएको छ ।

Leave a Reply