धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।

यसैक्रममा आज (बिहीवार) म्याग्दी जिल्लामा क्रियाशील पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको सूचना, प्रविधि विषयको बारेमा अन्तत्र्रिया र छलफल गरिएको छ । साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो ।

प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बिआईसिटीई)को विषयमा अध्ययनको अवसर जुराएको हो ।

जिल्लाको विभिन्न विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकहरुको अभाव भैरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बिआईसिटीई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहनुभएका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

बिआईसिटीई विषयमा अध्ययन गर्नका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवदेन दिन सकिने समय तोकिएको छ भने १५ गतेसम्म डबल दस्तुर तिरेर आवदेन दिन सकिन्छ । अहिले प्रवेश परीक्षाको लागि विद्यार्थीहरुले धमाधम फाराम भरिरहेका छन्भने १८ गते प्रवेश परीक्षाको मिति तोकिएको क्याम्पसले जनाएको छ ।

अन्तत्र्रिmया कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुुङ्गानाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले सबैको साथ लिएर अगाडि बढ्ने उद्देश्य लिएको बताउँदै शैक्षिक, भौतिक पूर्वाधारको विकास एवं तहगत र विषयगत रुपमा क्याम्पसलाई विकास गर्दै लैजाने योजना सुनाउनुभयो ।

उहाँले युवाहरुको बढ्दो विदेश पलायनलाई रोक्न, जिल्लामै रोजगारी सिर्जना गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताउँदै क्याम्पसको विकासका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयो ।

बिआईसिटीई अध्ययनका गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीण गरी न्युनतम २ दशमलव शुन्य १ अर्थात् ‘सी’ जिपिए प्राप्त गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन र अध्यापन गराइनेछ । बिआईसिटीई उत्र्तीण भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अफिसर, विद्यालयमा आईटी शिक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा समेत सघाउने जनाइएको छ ।

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई जानकारीसहित भर्ना अभियानमा साथ दिन समेत अनुरोध गरिएको छ । भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागू गर्नेगरी योजना बनाइएको छ ।

सबैको साथ र सहयोगबाट क्याम्पसको शैक्षिक वृद्धि हासिल गर्न सकिने भएकाले म्याग्दी बहुमुखी क्याम्पसलाई प्राज्ञिक तथा शैक्षिक उन्नयनको थलोका रुपमा विकास गर्नुपर्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभया । उहाँले समसामयिक विषयहरुमा विभिन्न समयमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल गरेर निचोड निकाल्नुपर्नेमा जोड दिनुभयो ।

दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले यसअघि स्नातकोत्तर तहको व्यवस्थापन सङ्कायमा समेस्टर तथा यस वर्षदेखि स्नातक तहमा बिआईसिटीई विषयमा सेमेस्टर प्रणाली र बिएडतर्फ वार्षिक प्रणालीअनुसार विज्ञान शिक्षाको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

Leave a Reply