‘निर्वाचनमाः सबै, सधैँ र सँगै’ भन्ने मूल नारासहित छैटौँ निर्वाचन दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा  कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक अन्तत्र्रिmया गरिएको हो ।

अन्तत्र्रिया कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सरोकारवाला निकाय सबै जिम्मेवार भएमा मात्रै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सकिने बताउनुभयो । उहाँले निर्वाचन प्रक्रिया सञ्चालन गर्ने क्रममा कतिपय व्यवस्थामा नीतिगत त्रुटि हुन सक्ने बताउँदै अव्यवहारिक नीति हुन सक्ने भएकाले त्यसलाई व्यवहारिक र जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले जनताले विश्वास गर्न सक्ने खालको निर्वाचन प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कोठाभित्र बसेर बनाइने नीतिलाई आम जनताले विश्वास गर्न नसक्ने र निर्वाचनलाई नै बहिष्कार गर्न सक्ने वातावरणको सिर्जना हुन सक्ने बताउँदै हरेक नीति बनाउँदा जनताकेन्द्रीत नीति बनाउन आवश्यक रहेको बताउनुभयो । निर्वाचन सञ्चालन गर्ने नीति बनाउँदा सकभर कम झन्झट हुने खालको बनाउनुपर्ने जिल्ला न्यायाधीश पौडेलको भनाइ छ ।

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्वाचनमा सबै नागरिक तथा राजनीतिक दलले भाग लिन पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र निर्वाचन प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउनुपर्ने हुँदा यसका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँदै निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वागतसहित जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले निर्वाचन आयोग एउटा संवैधानिक निकाय भएकाले सूचना र प्रविधिको हिसाबले नेपालका झण्डै पौने दुई करोड जनताहरुको व्यक्तिगत विवरण सङ्कलन, भण्डारण र संरक्षण गर्ने बताउनुभयो ।

निर्वाचन प्रक्रियामा निर्वाचन आयोगले सुरक्षा निकाय र कर्मचारीसहित २ लाखभन्दा बढी जनशक्तिको परिचालन गर्ने बताउँदै जिल्ला निर्वाचन अधिकारी घिमिरेले निर्वाचनको क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ करोड भन्दाबढी मानिसको भूमिका रहने बताउनुभयो । निर्वाचन प्रक्रियाको व्यवस्थापनमा निर्वाचन आयोगको एकल प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहने बताउँदै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलमा रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् । यसैगरी उनीहरुले नेपालको ऐन, कानुन संशोधन गरेरै भए पनि निर्वाचनमा प्रविधि अर्थात् विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने बताएका थिए ।
आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमाली जिल्ला म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएकोमा ८६ हजार मतदाता कायम हुन सक्ने जनाइएको छ ।

 

Leave a Reply