आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा दौडधुप सुरु भएको छ । नेताहरू विभिन्न शैलीमा चुनावी प्रचारमा जुटेपनि जनता भने अहिले नै उत्साहित देखिएका छैनन् । संघीय व्यवस्थाअनुसार पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा आशातित परिणाम प्राप्त गर्न नसकेपछि यसपटक जनताले पार्टीभन्दा पनि सक्षम र योग्य व्यक्तिलाई चयन गर्ने चाहेकाले समेत हतारमै चुनावी तयारीमा ब्यस्त भएका दललाई कार्यकर्ताले मात्रै कार्यक्रममा साथ दिएका छन भने आम समुदायको बाक्लो जमघट देखिएको र्छैन् ।

राजनीतिक दलहरू भने जनमत बटुल्न सरकार र अन्य पार्टीका असफल पाटाहरूलाई खोतलेर हतियारका रूपमा प्रयोग गर्न थालेका छन् । अहिलेसम्म कुनैपनि दलले उम्मेदवार घोषणा नगरेको अवस्थामा रघुगंगा गाउँपालिकामा एक यूवाले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरी पालिका अध्यक्षको तयारीमा जुटेका छन् । भण्डारीले अहिलेदेखि नै आफूलाई भोट किन दिने भन्ने विषयमा अडियो रेकर्डसमेत गराएका छन् । त्यसका साथै उहाँले रघुगंगा गाउँपालिकाको ‘समृद्धिका निम्ति खोज’ नामक अनुसन्धान पत्रसमेत प्रकाशित गरेका छन् ।

यूवा भण्डारीले जस्तै आफ्नो योजना अहिलेसम्म कुनै उम्मेदवारले बनाउन सकेका छैनन् । उनको भिजनले सम्रग रघुगंगालाई अहिलेभन्दा फरक अवस्थामा पुर्याउन सकिन्छ भन्ने देखिन्छ । भण्डारीजस्तै धेरै युवाहरू यसपटकको स्थानीय तहको निर्वाचनमा आकांक्षी देखिएकाले दलहरूलाई विगतका निर्वाचनमा जस्तो सहज नहुने विश्लेषण गर्न थालिएको छ ।आफ्नो प्रतिबद्धता पत्र निकै मेहनत गरी तयार गर्नुभएका गाउँपालिकाको स्वतन्त्र उम्मेदवार सागर भण्डारीसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी ।

सागर जि बेनीअनलाइन कुराकानीमा स्वागत छ
धन्यवाद । आफ्नो भनाई राख्ने अवसर दिनुभएकोमा ।

यो रघुगंगा गाउँपालिका “ समृद्धिका निम्ति खोज“ अनुसन्धान पत्र प्रकाशन गर्नु भएको रहेछ । यसको पृष्ठभुमि बताउनुस न?
म्याग्दी क्याम्पस अध्ययनरत रहदा स्नातक तहमा मानविकी समाजशास्त्रको प्राक्टिकल पेपरको लागि प्रत्येक बर्ष अनुसन्धान पत्र तयार गर्नु पर्यो । पहिलो बर्षनै यो शिर्षकमा तयार गर्ने लक्ष्य थियो तर जति अध्ययन गर्यो उति बिषय फराकिलो बन्दै गयो ।

यो शिर्षकमा पहिलो र दोस्रो बर्ष तयार गर्न सकिएन तेस्रो बर्ष यसको औपचारिक अध्ययन गर्न सुरु गरे । यो अध्ययन गर्दै जादा थप २ बर्ष लाग्यो र यो पुस्तकको स्वरुप तयार भयो । यस पुस्तकमा लगभग ४ बर्षको पुर्ण मेहनत छ मेरो ।

यो क्याम्पसमा अझै बुझाएको छैन, मैले अध्ययन गरेको कुरामा आम जनसमुदायको धारणा बुझेर र थपघट गरि पुर्ण अनुसन्धान पत्र औपचारिक रुपमा क्याम्पसमा पेश गर्ने सोच बनाएको छु । अहिले पुस्तक आम धारणा बुझ्नको लागी २५०० प्रती छापिएर बजार गएको छ ।

रघुगंगाको कक्षा ६ भन्दा माथि अध्ययन गर्ने सबै विद्यार्थी र विद्यार्थी मार्फत अभिभावकको हातमा पुर्याउने र सुझाव संकलन गर्ने लक्ष्य छ ।पुस्तक प्रकाशनका लागि रघुगंगाका विद्यार्थीका लागि पुस्तक अभिभावकत्व कार्यक्रम मार्फत केही सहयोग उठेको छ । सबै सहयोग दाता तथा रघुगंगाको परिवर्तन चाहानेहरुको लागि धन्यवाद भन्न चाहान्छु।

तपाईंले रघुगंगा गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उमेदवारको घोषणा गर्नु भएको छ । यो अनुसन्धान पत्र र अध्यक्ष पदमा उम्मेद्बारीसँग कुनै सम्बन्ध छ?

अवस्य पनि छ । थोरै पृष्ठभुमि जोड्न चाहे । विगत ४ बर्षमा मैले रघुगंगाका सयौं मानिससँग रघुगंगाको आवश्यकता र सम्भावनाको बारेमा अनौपचारिक रुपमा छलफल गरेको छु । यो अवधिमा पालिकाले सार्वजनिक गरेका बजेट, नीति तथा कार्यक्रम, स्थानीय राजपत्रमा छापिएका ऐन कानुन, तथा सुचनाको हक प्रयोग गरेर थुप्रै सुचनाहरु यस अवधीमा अध्ययन गरे ।यसैबिच विश्वका स्थानीय तहले गरेका सकारात्मक प्रयासका साथै शिक्षा, स्वास्थ, कृषि, रोजगार लगायतको विश्व अवस्था बारे अध्ययन गरेपछि रघुगंगा गाउँपालिकाको अवस्थामा तुलना गरे ।

मेरो अध्ययनको मुख्य सारंश हामीले खोजेको विकास नहुनुको मुख्य कारण जनप्रतिनिधिसँग के र कसरी गर्ने स्पष्ट कार्यदिशा र कार्यखाका नभएर हो । बिगत ४ बर्षको अध्ययनले के गर्ने भन्ने स्पस्ट कार्यदिशा तयार गरेको छु र कसरी गर्न सकिन्छ भन्ने पूरा कार्यखाका तयार गरेको छु ।कार्यादिशा तयार गर्न ४ बर्ष लाग्यो मलाई तर अब यसलाई कस्ले कार्यान्वयन गर्ने भन्ने प्रश्न मेरो मनमा गुन्जिरहयो । रघुगंगाको पहिलो ५ बर्षे कार्याकाल हेर्दा नीति कार्यक्रम सार्वजनिक त पालिका अध्यक्षबाट हुन्थ्यो तर नीति तथा कार्यक्रम प्रशासकीय प्रमुखका हुन्थे ।

जब प्रशासकीय प्रमुखको सरुवा हुन्थ्यो तब नीति तथा कार्यक्रमको सबैउहाँहरुकै पछि लागेर जान्थ्यो । स्थानीय तहको निर्वाचन पछि ४ वटा प्रशासकीय प्रमुख रघुगंगाले फेर्यो र प्रत्येक पटक भिन्न भिन्न निति पालिकाले अवलम्बन गर्यो ।यहाँ खासमा हुनुपर्ने चै पालिका अध्यक्षको आफ्ना नीति कार्यक्रम हुनुपर्थ्यो र प्रशासकीय प्रमुखले सहजीकरण गर्नु पर्थ्यो ।

यो अनुसन्धान पत्रमा पालिकाले समृद्ध रघुगंगा गाउँपालिका निर्माण गर्न अवलम्बन गर्ने विविध निति तथा कार्यक्रमहरुको चर्चा गरेको छु तर यी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कस्ले ? यी मेरा रघुगंगा गाउँपालिकाको विकासका सपना टुहुरा हुने भए भनेर नै मेरो रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी हो । म जसको नीति उसको नेतृत्व हुनुपर्छ भनेर यो कदम चालेको हु ।साथै कुनै पनि समाजिक अनुसन्धानको समाजमा प्रभाव देखिनु पर्छ ।

अनुसन्धान पत्र तयार गरेर क्याम्पस प्रशासनमा बुझाएर मात्र अनुसन्धानको मर्म पूरा हुदैन । यसलाई समाजमा लागू गर्नु पर्छ भन्ने मेरो बिचार हो । मेरो अनुसन्धान पत्रको न्याय गर्न म आफै अघि सर्नु पर्छ र यसका लागि गाउँपालिका अध्यक्ष पद उपयुक्त लाग्यो र स्वतन्त्र उमेदवार घोषणा गरेको हु ।यस पुस्तकको अन्तिममा मैले मेरा राजनीतिक एजेन्डा भनेर केही बुदा समाबेस गरेको छु । यसको मुख्य कारण मेरो पुस्ताको आवश्यकता र माग के छ भन्ने सबैलाई बोध होस भन्ने हो ।

यो अनुसन्धान पत्र नै तपाईंको घोषणा पत्र हो ?
नेपालको सबैभन्दा ठूलो समस्यानै घोषणापत्र हो । नेताहरुले घोषणापत्र त बनाउछ्न तर उनीहरू संग घोषणा पूरा गर्ने कार्ययोजना नै हुन्न । मेरो बिचारमा जुनसुकै पदमा उमेदवार हुने भए पनि यो पदमा पुगेपछि के गर्ने भन्ने पुर्वतयारी हुनुपर्थ्यो तर अघिकांश सँग कार्ययोजना नै हुदैन ।यसलाई म घोषणापत्र भन्दिन, यो समग्र रघुगंगाको बिकास खाका हो ।

यो रघुगंगामा जसको नेतृत्वमा स्थानीय सरकार बनेपनी अवलम्बन गर्नुपर्ने कार्य हुन् । यो विकास खाका अब सबै रघुगंगा बासीको सम्पती हो । यसलाई सबैले आवश्यकता अनुरुप प्रयोग गर्न सक्छन । यो रघुगंगाको २० बर्षे कार्यनीति भन्दा हुन्छ।
म घोषणापत्र नभएर ५ बर्षे कार्य योजना पत्र सार्वजनिक गर्ने छु । यो अनुसन्धान पत्रमा देखाएको रघुगंगाको चित्र कुन बर्षमा के के काम गर्दा कसरी हासिल हुन सक्छ र पाँच बर्षमा के गर्न सकिन्छ भनेर सार्वजनिक गर्नेछु ।
यो पुस्तकमा के छ खासमा ?

पुस्तक २ भागमा छ । पहिलो भागमा रघुगंगाले अनिवार्य र क्रमागत गर्नै पर्ने कामको बारेमा छ । जस्तो ईन्टरनेट विस्तार, तथ्यांक संकलन, वर्गीकरण तथा व्यवस्थापन, समाजिक अध्ययन अनुसन्धान केन्द्र स्थापना, सूचना व्यवस्थापन तथा सम्प्रेषण र सामाजिक आन्दोलन सम्बन्धित लेखेको छु ।दोस्रो भागमा विषयगत कामहरूमा शिक्षा, कृषि, पर्यटन, स्वास्थ, युवा तथा रोजगार, भौतिक पुर्वाधार निर्माण, राजनीतिमा शिक्षित तथा सक्षम युवा “कम्बो अफ पोलिटिसियन एण्ड टेक्नोक्रेट“ बिषयमा छ ।पुस्तकमा अनुसन्धान पत्रका साथमा थप रघुगंगाको आन्तरिक आयः केही विकल्प, सम्भावित श्रोत र रोजगारी सिर्जनाको बारेमा र मेरो पुस्ताको राजनीतिक एजेन्डा कस्तो हुनुपर्छ भनेर लेखेको छु ।

तपाईं रघुगंगा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभयो भने गर्ने मुख्य ३ काम बारे बताईदिनुस न ?

पहिलो काम, रघुगंगा गाउँपालिकाको पुजीगत बजेट ५ बर्षसम्म निरन्तर २५% भन्दा धेरै बनाई शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउने छु । ५ बर्षमा अध्ययनका लागी रघुगंगा छोडेर जाने संख्यालाई ५–१०% मा झारी कम्तीमा पनि ५००–७०० विद्यार्थी रघुगंगा नै अध्यनका लागि खुसी भएर फर्कन सक्ने बनाउने छु । र शिक्षालाई प्रविधीमैत्री बनाउन रघुगंगाको प्रत्येक घरमा निशुल्क ईन्टरनेट पुर्याउने छु ।

दोस्रो काम, रघुगंगाको १०० कि.मी सडक पालिका र अन्य निकाएको सहकार्यमा ५ बर्षमा ढलान गर्ने छु । करिब ४० बर्ष टिकाउ हुने र स्थानीय कच्चा पदार्थ प्रगोग गर्दा लागत आधा कम हुने हुदा पिचको सट्टा ढलान सजेस्ट गरेको छु । यसका लागि पालिका अन्तरगत रहने गरि पुर्वाधार प्रधिकरण निर्माण गरि कार्य अघि बढाउने छु । प्राधिकरण मार्फत आफ्नै डोजर, क्रसर लगायतका सामाग्रीको पुर्ण व्यवस्थापन गरी सबै वडा जोड्ने गरि सडक ढलान गर्ने छु । यसबाट करिब २०० जना ५ बर्ष सम्म नियमित रोजगारमा आवद्ध हुनेछन ।

तेस्रो कामः रघुगंगा गाउँपालिकामा एउटा पुर्ण आईटी (सुचना तथा प्रविधी)क्याम्पस तथा पर्यटन विकासका लागि ठूलो ध्यान केन्द्र संचालन गर्ने छु । गण्डकी प्रदेशमै आईटी क्याम्पस कम रहेका छन । हालसालै मात्र स्थापना भएको गण्डकी विश्वविद्यालयले प्राविधिक शिक्षालयमा जोड दिने नीति ल्याएको छ । रघुगंगालाई आईटी शैक्षिक हबका रुपमा विकास गर्ने योजना छ । ५ बर्षमा सम्बोधन लिएर कम्तीमा पनि भैतिक पुर्वाधार तयार गरी पहिलो सेसन सुरु गर्नेछु ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ आम पाठक तथा रघुगंगा बासीलाई ?
सर्वप्रथम त म यो अन्तर्वार्ता मार्फत मसँग जोडिनु भएको सबैलाई धन्यवाद भन्न चाहान्छु । म रघुगंगा बासीलाई यो पुस्तक र मेरो अध्यक्ष पदको उम्मेद्बारीमार्फत म मेरो पुस्ताको आवश्यकता र मुद्दाको बारेमा आम जनातालाई बुझाउने प्रयास गरेको छु । स्थानीय चुनाव अघि एक पटक पुस्तक पढ्न आग्रह गर्न चाहन्छु ।

रघुगंगा बासीहरुमा भन्न चाहान्छु की, रघुगंगाको विकास र आवश्यकताको सोच यो पुस्तक अनुसार एक रती पनि तपाईंसंग मिल्छ भने एक पटक रघुगंगाको अध्यक्ष पदमा मलाई भोट गरेर जिताउनु होस । एक भोट गलत ठाउँमा हालेर ५ बर्ष सम्म पछुताउनु पर्ने अवस्था सिर्जना नगरी काम गर्नेछु । तपाईं अहिले भोट सही ठाउँ र सही मुद्दाका लागि हाल्न सक्नु भएन भने अबको २० बर्ष नयाँ अनुहार यसरी कार्ययोजना सहित राजनीतीमा आउने हिम्मत नगर्न सक्छ ।तपाईंले यो पटक आफ्नो बिकेक प्रयोग गर्नुहुनेछ भन्नेमा ढुक्क छु ।धन्यवाद ।।

Leave a Reply