नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य चयन गरेको छ ।

मोर्चाको भेलालाई उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले दलितहरुको हक हित र अधिकारको लागि मााओवादी लड्दै आएको बताउनुभयो । इन्चार्ज पौडेलले माओवादीको एजेण्डालाई प्रभाबकारी कार्यान्वयनका लागि स्थानीय तहमा माओवादीकै नेतृत्व स्थापित हुनपर्छ भन्नुभयो । उहाँले माओवादी जनयुद्ध र माओवादीको पहलमा प्राप्त उपलब्धीहरुहरुको बारेमा जनताको घरघरमा पुगेर सुसुचित गराउनुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर परिचालन हुन आग्रह गर्नुभयो ।

भेलामा गण्डकी प्रदेशका सांसद विनोद केसीले माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा महिला, दलित, आदीबासी जनजाती महिलाले अवसर सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य टेकबहादुर विश्वकर्माले दलित, महिला, जनजाति, अल्पसंख्यक, पछाडी परेका समुदायको उत्थान र सशक्तिकरणमा माओवादीले जति योगदान कुनैपनि दलले नगरेको बताउदै सशक्त रुपमा हरेक तहको नेतृत्वमा पुग्ने गरी क्षमता विकास गर्न उपस्थितलाई आग्रह गर्नुभयो ।

भेलामा प्रदेश सदस्य पदम किसान ,ज्योति लामिछाने ,नगर अध्यक्ष सेरबहादुर केसी ,जिल्ला संयोजक मोर्चा पृथलाल बिक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रथम भेलामा राजकुमारी परियारको अध्यक्षता, सुप्रेना किसानको संचालन र पशुपति बराईलीको स्वागतमा प्रथम भेला सम्पन्न भएको थियो ।

Leave a Reply