म्याग्दीको बगरफाँट,सिंगा र बाबियाचौरमा डेढ दशक अघिसम्म धान, गहुँ,मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिना सम्म खान पुग्थ्यो। तर, जब सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कंक्रिणका घरले भरिन थालेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी नगरपालिका ४ सिंगा,बेनी नगरपालिका १ रत्नेचौर,मंगला गाउँपालिकाको बाबियाचौर लगाएतका सडकको पहुँच पुगेका ठाउँहरुको अवस्था पनि यस्तै छ ।

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहँुचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतियोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिदैँन। बेनी नगरपालिका २ बगरफाँटका बेदप्रसाद शर्माले भने ‘बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिए पछि अन्नवालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यन्नमा निर्भर रहनुपरेको छ ।’

खेती गरेर उत्पादित कृषि जन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयको भनाइरहेको छ । खेतियोग्य जमिन घडेरी बनाउँनको लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार म्याग्दीको खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आएपनि कृषि योग्य जमिन मासिँदै जान थालेको छ ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठ ओटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट (पलाँसे क्षेत्र) गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।

हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उनको भनाइ छ ।

‘जिल्लामा न त आधुनिक खेति प्रर्णालीको विकास हुन सकेको छ न त रैथाने परम्परागत कृषि पेशालाई राम्रोसंग अपनाउन सकिएको छ’ स्थानीय किसान टेकबहादुर कार्कीले भने ‘किसानले खेतियोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन ।’
म्याग्दी जिल्लामा ८ प्रतिशत बेसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६प्रतिशत हिमाली क्षेत्रको भू–बनोट रहेको छ ।समुद्र सतहबाट ७९२ मीटर (बेनी नगरपालिका १ रत्नेचौर) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर) रहेको छ ।

१५ वर्ष यताको तथ्यांक हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधा भन्दा बढि जमिन घटिसकेको छ । अहिले आयातित खाद्यन्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक दिन खेतियोग्य जमिनमा पक्की भवन ठडिदा समेत कसैले खेतियोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् ।

बाहिरका मानिस सदरमुकाममा बसाइसरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतियोग्य जमिन बेचेर काठमाण्डौ,पोखरा,चितवन जस्ता शहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतियोग्य जमिनमा असर परेको स्थानीय बताउँछन् । सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भएपनि युवाहरु पढाई, लेखाई र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन्

Leave a Reply