हिमालपारीको जिल्ला मुस्ताङका १३ ओटा बस्ती कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको अनुसन्धानले वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको देखाएको हो ।

वारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरु लगाएतका बस्तीहरु उच्च जोखिममा रहेको देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढी–पहिरोका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्तीहरू उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ । हिमस्खलन बढेपछि सेता हिमालहरु काला पहाडमा परिणत हुँदै जानसक्ने खतरा समेत बढेको वातावरणवीद्हरुले बताएका छन् ।

मुस्ताङमा जलाधार क्षेत्रहरु अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्याएका वातावरणकर्मी सहदेव सिग्देलले बताउनुभयो । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ ।

जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्तीहरु उच्च जोखिममा परेका हुन् ।

कालीगण्डकी नदीको सतह बर्सेनी वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको मार मुस्ताङले भोग्नुपरेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपाती समेत प्रभावित हुँदै गएको छ भन्नुभयो ।

मुस्ताङमा गत मंसिरमा हिउँपहिरो गएको थियो । मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षतिहुनका साथै थुप्रै पशु चौपायाँहरु मरेका थिए ।

यता म्याग्दी क्षेत्रमा पनि कालीगण्डकी नदी कटानको समस्या विकराल बन्दै गएको छ । साघुरिएर बगेको नदीले कटान गर्दा तटीय क्षेत्रका वासिन्दाहरु वर्षाको समयमा त्रसित हुने गरेका छन् ।

भूरुङतातोपानी,दाना,बैंसरी र जिल्लाको सदरमुकाम बेनीबजार समेत असुरक्षित रहेको छ । “कालीगण्डकी नदीमा कतिबेला बाढी आउँछ कुनै टुंगो नै हुँदैन” बेनी बजारका रमेश श्रेष्ठले भन्नुभयो “जलवायु परिवर्तनको असर हिमालदेखि नदी आसपासको तटीय क्षेत्र र सिमसारहरुमा तीब्ररुपले पर्दै जान थालेको छ ।”

त्यसैगरी म्याग्दी नदी कटानको जोखिम पनि उत्तिकै छ । पश्चिम म्याग्दीका १८ वटा वस्तीहरु म्याग्दी नदीको कटानका कारण वर्षामा सधैं असुरक्षित रहने गरेका छन् । नदी किनारामा तटबन्ध गरेर नदीको धार परिवर्तन गर्ने प्रयास गरिए पनि वर्षेनी कटान नरोकिएको बेनी नगरपालिका २ बगरफाँटका नारायण कार्कीले बताउनुभयो ।

Leave a Reply