कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका-४ नम्बर वडामा पर्ने प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु बढेका हुन् ।

कोरोनाको जोखिमका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको गरिएको छ । अहिले कुण्डमा दैनिक महिला २ सयजना र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि अनुमति दिइएको अध्यक्ष शाक्यले बताउनुभयो । कुण्डमा २ जना विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीहरुले स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । अत्यधिक चिसोका कारण तातोपानी कुण्डमा स्नान गरेपछि खुट्टाको दुखाई कम भएको पोखरा लामाचौरकी आछेम गुरुङले अनुभव सुनाउनुभयो ।

तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ ।

 

Leave a Reply