चरम गरिबीसँग जुधेर भए पनि पढाइमा अब्बल बेनी नगरपालिका–४, सिङ्गा (रादीकुलो)की सोनी थापाको अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

स्थानीय धौलागिरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया थापालाई बेनपा–४, सुर्केमेला घर भई हाल अमेरिकामा बसोबास गर्ने ईन्द्र थापा, सबी थापाले घर खर्चसहित कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक वार्षिक २५ हजार नगद आर्थिक सहयोग गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी सोनी र उनकी आमा पूर्णकली थापामगरलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

उच्च शिक्षासम्मका लागि नियमित सहयोगको सुनिश्चित भएकाले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताउनुभयो । ‘चरम गरिबीसँग जुधेर भए पनि पढाइमा अब्बल थिइन्, अब धेरै सहज भएको छ, प्राप्त सहयोगको आवश्यक निगरानी गरिनेछ’ अध्यक्ष खड्काले भन्नुभयो ।

सम्पत्तिको नाममा एक टुक्रा जमिन समेत नभएपछि गाउँमा प्रयोगविहिन अवस्थामा रहेको पुरानो एकतले ढुङ्गाको घरमा सुकुम्बासी जीवन विताइरहेका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले पठनपाठनमा समस्या भएपछि नागरिक दैनिक सहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारबाट सङ्कलित रकम समेत सोही अवसरमा सार्वजनिक गरिएको थियो ।

मेधावी विद्यार्थी थापाले यस वर्षको प्रथम त्रैमासिक परीक्षामा उनले ३.५ जिपिए ल्याएर पुरस्कृत भएको विद्यालयका प्रधानाध्यापक डण्डपाणी सापकोटाले बताउनुभयो । उहाँले विद्यालय भर्ना भएको पहिलो वर्षदेखि नै कक्षामा सधैँ प्रथम भएर आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याउन सफल भएको अवस्थामा प्राप्त सहयोगले सहज हुने बताउनुभयो ।

शिक्षादीक्षाका लागि थप अन्नपूर्ण गाउँपालिका–३, दाना हाल यूकेमा रहनुभएका कृष्ण तुलाचनाबाट २० हजार, काभ्रे जिल्ला घर भई हाल अस्टे«लियामा रहनुभएका अश्विन केसीले कक्षा १२ सम्मका लागि वार्षिक १५ हजार, कुहुँ तुसारेपानी घर भई हाल युके रहनुभएका खगेन्द्र रोकाबाट १० हजार, हाम्रो नेपाल समूहले उच्च शिक्षासम्मका लागि कपडा र स्टेशनरी सामान र बरंजा धापुङका गंगाबहादुर चोचाङ्गी आठहजार पाँचसय ८० आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । हालसम्म विद्यार्थीको खातामा ७८ हजार पाँचसय ८० रुपैयाँ नगद जम्मा भएको छ।

शैक्षिक अभिभावकत्व ग्रहण गर्ने सबी थापाले गरिब तथा विपन्न परिवारका बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित हुने अवस्था आएपछि सहयोग गरेको बताउनुभयो । उहाँले आर्थिक अभावकै कारण अध्ययनशील र अनुशासित विद्यार्थीको पढाइमा समस्या भएमा भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यसैबीच सोही कार्यक्रमको अवसरमा विद्यालयको कक्षा ११ मा अध्ययनरत संगीता मिजारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले भर्ना खर्च तीनहजार सातसय रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । पत्रकार गौतमले कक्षा १२ सम्म लाग्ने सम्पूर्ण खर्च ब्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप उक्त सहयोग गर्नुभएको थियो ।

Leave a Reply