म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले भन्सार छुटमा गाउँपालिकाको स्वामित्वमा रहने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा निजी सवारीसाधनलाई भाडामा लिएर सेवा दिएको गाउँपालिकाले करिब १३ लाखको लागतमा एम्बुलेन्स ल्याएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । ‘गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुँदा कोरोनाको जोखिममा धेरै समस्या भयो,‘सबैको सल्लाह लिएर अगाडी बढ्छौ’अध्यक्ष पुनले भन्नुभयो ।

गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने, मर्मत तथा सञ्चालन कोष बनाएर सेवा दिने बताउनुभयो । नीति तथा कार्यक्रममा एम्बुलेन्सको व्यवस्था गरिएपनि कोरोना लगायत विभिन्न कारणले समयमै सेवा उपलब्ध गराउन नसकिएको अध्यक्ष पुनको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सेवा प्रवाहका लागि करिब १० प्रतिशत काम बाँकी रहेको बताउँदै कार्यपालिकाको बैठकबाट चालक सहित अन्य ब्यवस्थापन गरी यसै महिनादेखि सञ्चालन गरिने बताउनुभयो ।

७ वटा वडा रहेको गाउँपालिकामा गूर्जा बाहेक सबै वडामा सडक सञ्जाल पुगेको छ । गाउँपालिकाको एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीले छिटो, सहज र सर्वसुलभ तरिकाले बिरामीले सेवा पाउने उपाध्यक्ष छन्त्यालको भनाई छ । गाउँपालिकाले विपन्न सुत्केरी, ज्येष्ठ नागरिक, दुर्घटनाका घाइते र सुत्केरीलाई एम्बुलेन्सले सहज हुने स्वास्थ्यकर्मीको भनाई छ ।

गाउँपालिकाले निःशुल्क तोकेको बाहेकलाई न्यूनतम शुल्कमा सेवा दिने बताइएको छ । म्याग्दीका अन्य स्थानीय तहको स्वामित्वमा हालसम्म एम्बुलेन्स सेवा सञ्चालनमा छैन । म्याग्दीमा रेडक्रस सोसाईटी, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, बेनी अस्पतालले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् । मोना यूकेले समेत जिल्mलाभरी सेवा दिने गरी यसअगाडी ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो ।

Leave a Reply