निर्वाचनलाई सरल र सहभागीतामुलक बनाउने सरकारले घोषणा गरेपनि मतदाताले भने झन्झटिलो प्रक्रियाको पूरा गर्नुपर्ने प्रावधानले हैरानी खेप्नुपरेको छ ।

स्थानीय तहको निर्वाचन नजिकदैं जाँदा निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएकालाई प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने सूचनामा वडा कार्यालयको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने झन्झटिलो र अब्यवहारिक प्रक्रियाले सास्ती भएको मतदाताले गुनासो छ ।

निवेदन वडा कार्यालयमा लिएर जानुपर्ने, त्यहाँबाट सिफारिस लिएर निर्वाचन कार्यालयमा पुग्नुपर्ने भन्दै अनावश्यक झन्झटले मतदाता नै निरास भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले फागुन २० गतेभित्र निवेदन दिनुपर्ने बताएपछि परिचयपत्र हराएकाले प्रक्रिया लामो भएको भन्दै निर्वाचनका कर्मचारीलाई नै सहज बनाउन माग गरेका छन् । ‘यो प्रक्रियाले धेरै छुट्ने सम्भावना छ,‘यो प्रक्रियामा दलले समेत चासो देखाएका छैनन्’ एक मतदाताले भने ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले आयोगबाटै जारी परिपत्र भएकाले प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

‘मतदाता परिचयपत्र आफुसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पुरा गरी आउनुपर्ने छ,‘जिल्ला भित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ’ अधिकारी घिमिरेले भन्नुभयो ।जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन समेत मतदाताले आफ्नो साथमा परिचय पत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाई छ ।

यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेपनि आयोगबाटै जारी भएकाले सम्भव नभएको निर्वाचनका कर्मचारीले प्रतिक्रिया दिएका छन् ।

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्र्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा निर्वाचन कार्यालय सहमत भएपनि आयोगको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएकोमा ८६ हजार मतदाता कायम हुन सक्ने जनाइएको छ ।

Leave a Reply