पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोज्नुभएको छ । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लाग्नुभएको हो ।
उहाँले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गर्नुभएको छ । रु ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गर्नुभएका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाउनुभएको छ ।
कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उहाँले बताउनुभयो । उहाँको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । पौने दुई किलोसम्मको एउटा कालिज रु तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ ।
कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उहाँको भनाइ छ । कालिजका लागि उहाँले रैथाने आहारा ९मकै, गहुँ, कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । हरियो भुइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो । उहाँको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् ।
निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उहाँको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ ।
कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ । आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँको फार्ममा कालिज, टर्की र बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि सुरु गर्नुभएको छ ।
जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।