अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गाउँघरबाट हराउँदै परम्परागत ढुंगे घर

On: February 26, 2022 12:47 PM
Follow Us:

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै गएका छन्। खरले छाएका घरहरू लोप भएका छन्।

डेढ दशकअगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातोमाटो र कमेरोलो पोतिएका घरहरू बाक्लै देखिन्थे। रैथाने सिप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरहरूले पर्यटकीय जिल्ला म्याग्दीमा पुग्ने जो कोहीलाई आकर्षित गर्थे।

तर‚ गाउँसम्म सडक विस्तार भएर यातायातका साधनहरु पुग्न थालेपछि रड र सिमेण्ट प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीयहरू बताउँछन्। सडकको प्रभाव ती पुराना परम्परागत घरहरूमा परेको उनीहरुको बुझाइ छ।

अहिले परम्परागत घर र ढुंगे घरहरू गाउँबाट विस्तारै ओझेलिँदै छन्। गाउँमा धमाधम कंक्रिटका घर ठडिँदै गएका छन्। सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुंगाको छानो हटाएर जस्तापाले घर छाउन थालेका छन्। यसले पुराना मौलिक घरहरू विस्तारै विस्थापित हुने अवस्थामा पुर्‍याएको छ।

बेनी नगरपालिका-२ बगरफाँट, मालिका गाउँपालिका-७ विम, रघुगंगा गाउँपालिका-६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्षअगाडिसम्म अधिकांश घरहरू ढुंगा र केही खरले छाइएका थिए। तर, अहिले ती बस्तीहरूमा सिमेन्टेड पक्की घर र विभिन्न रंगका जस्तापाताहरूले छाएर घरहरू रंगीचंगी देखिन्छन्। कमेरो र रातोमाटोले पोतिएका घरहरू कम पाइन्छ।

गाउँमा सडक आएपछि गाउँलेहरूले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरहरूलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए। उपाध्यायले भने, ‘डढ दशकअगाडिसम्म गाउँमा धेरै जसो घरहरू ढुंगा र खरले छाएका थिए, गाडीहरू आउने बाटो पनि थिएन, अहिले ती सबै घरहरु लोप भैसके।’

बेनी नगरपालिका-४ सिंगामा पनि  करिब एक दशकअगाडिसम्म ढुंगे घर टन्नै थिए। तर‚ अहिले त्यहाँ कंक्रिटका ठूलाठूला घरहरू ठडिएको स्थानीय केशव पौडेलले बताए। उनले गाउँमा सडक आएपछि धेरै मानिसहरूले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामानहरू ल्याउन सक्ने भएपछि ठूलाठूला भवनहरू बनाउन थालेको बताए। यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरी पक्की घरहरू बनाउन थालेको उनको भनाइ छ।

सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिसहरू सजक र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवनहरू निर्माण गर्न थालेका छन्। परम्परागत घरहरू भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकहरूले सचेतता अपनाएर पक्की भवनहरू बनाउन थालेको बताइएको छ। विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्यांक छ।

 

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।