पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज (शनिबार) चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले संस्थागत, सचिव शिवबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
२०७० सालमा स्थापना भएको संस्थाले पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडावासीलाई नियमित रुपमा खानेपानीको व्यवस्थापन गरेर उपलब्ध गराउँदै आइरहेको छ । उपभोक्ता संस्थामार्फत वितरीत खानेपानीबाट पर्वतको बगरफाँट, पर्वत बेनीबजार तथा लामाखेतका ६ सय ६४ घरधुरीका झण्डै ७ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले खानेपानीको आयोजनालाई आगामी दिनमा पनि दीगो रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले योजना सम्पन्न भएपछि उपभोक्ताले आवश्यकताअनुसार खानेपानीको उपभोग गर्न पाएको बताउँदै गाउँपालिकामार्फत खानेपानीलगायत आधारभूत समस्याबाट बञ्चित समुदायमा योजनामा प्राथमिकता दिइएको बताउनुभयो । साधारणसभामा जलजला–३, का वडा अध्यक्ष रबी भण्डारी, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठ, उपभोक्ताको तर्फबाट सूर्यबहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दुई वर्षअघि करिब १२ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको योजनाको पर्वत बेनीको आटारीमा ४ लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी २४सै घण्टा वितरणको व्यवस्था मिलाइएको छ । चैत, वैशाखमा खानेपानीको समस्या नहोस् भनेर कालीगण्डकी नदीबाट पम्पिङ गर्ने गरिएको छ । साधारणसभाको उद्घाटनसत्र संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष रेणुदेवी मल्लको स्वागत र सचिव कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply