जिल्लाको बेनी नगरपालिका-२ बगरफाँटको खहरेखोलामा बिहीबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सिरक डसना बनाउन पुराना कपडाको भारी बोकेर आउने मानिसहरुको भिड नै लाग्यो।तीन जना धुनिया (सिरक, डसना, तकिया बनाउने मान्छे) ले ट्याक्टरमा पुराना कपडा पेलेर कपास निकाल्ने मेसिन जडान गरी बगरफाँटमा आएपछि सिरक, डसना बनाउने मानिसहरुको भिड लागेको थियो।

रौतहटका बद्रीराम मण्डल, श्याम सोहनी र निकेश गुप्ताले साँझसम्म मेसिनबाट कपडा पेलेर कपास निकाली सोही कपासबाट विभिन्न व्यक्तिका ४५ वटा नयाँ सिरक डसना बनाए। ७ किलो  पुराना कपडा पेलेर बाहिरी खोल आफ्नो कपडा प्रयोग गरी एउटा डसना बनाएको रु १ हजार ४ सय रुपैयाँ लिने गरेका मण्डलले एकैदिन एउटा टोलबाट रु ६३ हजार कमाइ भएको धुनियाँका अगुवा बद्रीराम मण्डलले बताए।

मण्डलका अनुसार रु ६३ हजार कमाइ भए पनि ट्याक्टर खर्च, मेसिन खर्च, सिरक डसनाको बाहिरी खोल (कपडा)को खर्चलगायत सबै खर्च कटाएर रु १५ हजार बचत हुने र तीन जनाले दामासाहीका रुपले बाँड्ने नियम रहेको छ।

यहाँका बासिन्दालाई अहिलेसम्म सिरक र डसना बनाउनको लागि बाहिरबाट धुनिया खोजेर ल्याउनुपर्नै बाध्यता थियो। तर, चलता फिरता मेसिन बोकेर धुनियाहरु घरघरमै आउन थालेपछि निकै सहज भएको स्थानीय देबी थापाले बताइन्। मेसिनको सहायताले धुनियाहरु म्याग्दीका गाउँगाउँमा पुगेर पुराना कपडाबाट डसना, सिरक र तकिया बनाएर राम्रो आम्दानी गरिरहेका छन्।

एकसातादेखि म्याग्दीको बेनी नगरपालिका सहित,मालिका,मंगला गाउँपालिकाका विभिन्न गाउँहरुमा  मेसिन लगेर सिरक, डसना बनाउँदै आएको मण्डलले बताए। मण्डल र उनका साथीहरुले मेसिनबाट पुराना कपडाहरुको धुलाई गरी कपास निकालेर डसना, सिरक र तकिया बनाएर लोभलाग्दो आम्दानी गरेका छन्। गाउँ गाउँमा उनीहरु मेसिन लगेर जान्छन्  र पुराना कपडा धुलाई गर्नेहरुको भीड बढ्छ। मण्डलले यो कामबाट प्रत्येक जनालाई दैनिक चार हजारदेखि पाँच हजारसम्म आम्दानी भइरहेको बताए।

१३ वर्षदेखि यो मेसिन राखेर काम गरिरहेको र यसबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ। उनीहरु दैनिक ट्याक्टरमा मेसिन जडान गरी बिहानदेखि बेलुकासम्म गाउँ गाउँमा पुग्छन्। त्यहाँका स्थानीयहरुको घरमा भएका र कामै नलाग्ने पुराना कपडाहरु पेलेर कपास बनाउने मात्रै होइन त्यही कपासबाट जाडो छल्ने सिरक र डसना बनाउने गरेको र त्यसको लागि आवश्यक पर्नै कपडा पनि सँगै लिएर बेच्ने गरेको उनले बताए।

पुराना कपडाहरुको सदुपयोग भएपछि स्थानीय बासिन्दाहरुले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको उनले सुनाए। पुराना थोत्रा कपडा मेसिनमा पेलेर कपास बनाएवापत प्रतिकिलो रु. ५० र सिलाइवापत् डसना र सिरकको साइज हेरी रु. एकहजारदेखि एक हजार आठ सयसम्म लिने गरेको र कपडाको दाम छुट्टै लिने गरेको उनले बताए।

Leave a Reply