कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । मन्दिर परिसरमा भक्तजनलाई कालीगण्डकीको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि स्नानका लागि जोखिम मोलेर नदी किनारमा पुग्नुपर्ने बाध्यता हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

उनका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा भक्तजनलाई स्नानका  लागि ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएको हो । स्नानका लागि ११ वटा गौमुखी धारा जडान गरिएको छ । नदी किनारमा बनाइएको इनारबाट विद्युत्को सहायताले चल्ने ‘समसिबल वयल पम्प’बाट तानिएको पानी ४५ मिटर माथि रहेको ओभरहेड ट्याङ्कीमा सङ्कलन हुन्छ ।

नदीको किनारमा नौ मिटर गहिरो इनार बनाइएको छ । जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको पानी पाइपमार्फत धारामा पुर्‍याइएको निर्माण समितिका सचिव राम बानियाँले बताए । उनका अनुसार आयोजना निर्माणका लागि खानेपानी कार्यालयले रु ३६ लाख ७६ हजार उपलब्ध गराएकामा दाताबाट रु आठ लाख ८७ हजार सहयोग प्राप्त भएको थियो ।

नदी किनारमा नौ रोपनी जमिनमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजन स्नानका लागि नदी किनारमा पुग्ने गरेका थिए । महाशिवरात्रि, बालाचर्तुदर्शी, साउन महिनाको सोमबारका दिन मेला लाग्ने गलेश्वर पश्चिमको पशुपतिनाथ र मुक्तिनाथको प्रवेश विन्दु मानिन्छ ।

मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि स्नानका लागि किनारमा जाने समय बचत हुने, झन्झट र दुःख नहुनाका साथै स्नानका क्रममा चिप्लेर नदीले बगाउनेजस्ता जोखिम अब नहुने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए । तेइस वर्षअघि निर्माण भएको गलेश्वर मन्दिरको छानालाई हालै पित्तलले छाएपछि थप आकर्षक देखिन थालेको छ ।

यसैबीच सामाजिक विकास कार्यालयको रु पाँच लाखको सहयोगमा कोषको कार्यालय र मन्दिर परिसर रङरोगन तथा मर्मत गरिएको छ । गत वर्ष निर्माण भएको बहुउद्देश्यीय सभा हलमा तीर्थयात्री निवास बनाउन लागिएको छ ।

Leave a Reply