म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी खोलाको असला माछा’ पर्ने गरेको छ । बजारको छेउमै रहेको म्याग्दी खोलाको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि माछाको स्वाद लिएर फर्किने गरेका छन् ।

अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाको प्रति केजी १५ सय रुपैयाँमा बिक्री हुने गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेपछि हिजोआज कुण्डमा चलहपहल बढेपछि दरबाङ, बावियाचौर क्षेत्रबाट समेत माछा तातोपानीसम्म आउने गरेको छ ।

असला माछा खानकै लागि तातोपानीमा आउनेहरुलाई पु¥याउन धौ–धौ हुने गरेको तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताईन् ।  ‘माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ’ तुलाचनले भनिन् । माछा कमै पाइने भएकाले कोसेली पठाउन हम्मेहम्मे परेको ब्यवसायीको भनाई छ ।

घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोशेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ ।

पछिल्ला केही बर्ष खोलामा माछा कम हुँदै गएकालेस्थानीयको सहयोगमा प्रहरीले समेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने कडाई गरेकाले होटलको भान्सामा विषादी रहित माछा पाक्ने गरेको छ। माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ ।

विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइमा पर्न गएको हो ।

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलहरुमा वास्थ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दीखोलाको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दीखोलाको माछा मीठो हुनेहुँदा मुस्ताङको फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको हो ।

फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाईमा रहेको होटल ब्यवसायी एवम् तातोपानी कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

उनले तातोपानीका युवाहरुले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन् । तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटलहरु थपिएका छन् ।

यसैबर्ष तातोपानीमा सञ्चालनमा आएको श्रेष्ठ होटल हटस्पिङमा पुग्ने स्वदेश तथा विदेशी पाउनाले समेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको छ । प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु बढेका छन् ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानीक खाना तातोपानीको प्रमुख विषेशता रहेको छ ।

Advertisement 

Leave a Reply