म्याग्दीको बेनी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो ।

सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले स्नानका लागि तयार गरिएको ११ वटा गौमुखी धाराको उद्घाटन गर्नुभएको छ। ‘भक्तजनको सुविधाका लागि निकै सहज भएको छ,‘सबैको सहकार्यबाट मन्दिरमा अझै धेरै काम गर्नुछ’प्रजिअ रानाले भन्नुभयो ।

धार्मिक मन्दिरको ब्यवस्थापन तथा सहयोगबाट निर्मित संरचनालाई अझै ब्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । मन्दिर परिसरमा निर्मित धाराका लागि भक्तजनको साथै खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा रहेको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले नदी किनारमा बनाइएको इनारबाट विद्युतको सहायताबाट धारासम्म पानी ल्याइएको बताउनुभयो ।

जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको पानी पाइपमार्फत ४५ मिटर माथि रहेको ओभरहेड ट्याङ्कीमा सङ्कलन गरी धारामा पु¥याइएको छ ।

नदीको किनारमा नौ मिटर गहिरो इनार रहेको निर्माण समितिका सचिव राम बानियाँले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि खानेपानी कार्यालयले ३६ लाख ७६ हजार उपलब्ध गराएकामा दाताबाट आठ लाख ८७ हजार सहयोग प्राप्त भएको थियो ।

गलेश्वर बृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई दैनिक कालिगण्डकीमा जान समस्या भइरहेको अवस्थामा मन्दिरमै धारा जडान भएपछि सहज भएको आश्रममा बस्ने राधिकााले बताउनुभयो । ‘हाम्रो बषौंको चाहना पुरा भएको छ,‘अब हामीलाई धेरै सहज भएको छ’ उहाँले भन्नुभयो ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ । गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ ।

 

 

Leave a Reply