विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानी घट्ट अहिले लोप भएका हुन् ।  पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो ।

गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । खासगरी पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो ।

अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानी घट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।

मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीले केही वर्ष अगाडिसम्म पानी घट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई÷तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् ।
मिलको बढ्दो प्रयोग हुन थालेपछि पानी घट्ट प्रयोग हुन छाडेको स्थानीयवासी रणबहादुर बुढाको भनाइ छ । उनले पहिले–पहिले पानी घट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानीपिसानीको लागि जाने गरेको बताए ।

जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानी पिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानी घट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानी पिसानी मिलकै कारण पानी घट्टको माग कम हुँदै गएको दुई दशकदेखि पानी घट्ट सञ्चालन गर्दै आएका मालिका गाउँपालिका वडा नं २ रुमका पृथु विकले बताए । त्यसका साथै एक दशक अघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानी घट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेकाले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने म्याग्दीको इतिहास तथा संस्कृतिका अध्येता कृष्णबहादुर बानियाँले बताए ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जगेर्नाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने मालिका–२ रुमका वडाअध्यक्ष नरबहादुर पुनले बताए । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोटलगायतका गाउँमा फाटफुट पानी घट्ट चल्ने गरेका छन् ।

Leave a Reply